नेपालीमाथि नेपालीकै ज्यादती, सरकार रमीते

५ बर्ष अगाडि

काठमाडौं । नेपालीलाई जहाँ पनि ठगिने नै पिरलो । देश भित्र पनि सोझा साँझा नेपाली ठगिएकै छन् । विदेशमा पनि नेपालीले नेपालीलाई नै ठगेका छन् । ठग्ने र ठगिनेको चक्र घट्दो क्रमममा होइन बढ्दो क्रममा रहेको छ । त्यसका राजनीतिक नेतृत्वको समेत प्रमुख हात रहेको छ । आफूलाई काँग्रेसको नेता बताउने मनाङका व्यापारी टेकबहादुर गुरुङ, डोल्पाका नेकपाका सांसद रामबहादुर बुढा, आफूलाई एक दैनिक पत्रिकाको प्रकाशक बताउने शेरचन थरका पूर्व सांसद तथा पूर्व एमाले र काँग्रेसका केही नेता समेत मानव तस्करीमा संलग्न रहेको बताइन्छ । 

पछिल्लो पटक सरकारले मलेसियामा कामदार पठाउन रोक लगायो । प्रवेशाज्ञा, हावई टिकट र स्वास्थ्य परिक्षणको नाममा ठगी भइरहेको पाइएपछि सरकारले मलेसियामा कामदार पठाउन रोक लगायो । गत जेठ ३ गतेदेखि  कामदार पठाउन रोक लगाएको सरकारले कुटनीतिक च्यानल मार्फत मलेसिया सरकारसँग वार्ता गर्यो र समस्या समाधानका लागि पहल गर्यो । सरकारको पहलले सार्थकता पाउने चरणमा पुगेको छ । केही समय भित्रै नेपाल र मलेसियाबीच श्रम सम्झौता हुन लागेको छ । तर मलेसियामा नेपाली कामदार माथि ठगी गर्ने गिरोह संगठित रुपमा नै परिचालित भएको नेपाली दूतावास मलेसियाले बताएको छ ।
 
नेपाली ठग्ने नेपालीलाई नै कारवाही गर्न भने दूतावास पूर्ण रुपमा असफल जस्तै भएको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले अवैधानिक रुपमा मलेशियामा बसोवास गर्दै आएका नेपाली कामदारसँग नेपाल पठाइदिने भनी ठगीका घटना बढेको छ । पछिल्लो २ महिनामा मात्रै करिब १०० भन्दा बढी कामदार ठगिएका छन् । त्यसरी ठगिनेमा अवैध रुपमा मलेसिया बस्दै आएका कामदार बढी रहेका छन् । ठगहरुले मोटो रकम उठाउने र फरार हुने गरेका छन् । जानकारी पाएर पनि नेपाली दूतावासले कुनै कारवाही गर्न सकेको छैन । दूतावासले मलेसिया सरकारले अवैधानिक भएका नेपाली कामदारलाई नेपाल फिर्ता पठाउने अनुमति कसैलाई पनि नदिएको प्रष्ट पारेको छ ।

नाल्बू–१ ताप्लेजुङ घर भई हाल मलेशिया बस्ने फुपु तेम्बा शेर्पाले अवैधानिक रुपमा बसोवास गर्दै आएका नेपाली कामदारलाई नेपाल फिर्ता पठाइदिने भन्दै ठगी गर्दै आएको विषयमा नेपाली दूतावास र मलेसियाको गृह मन्त्रालयमा समेत उजुरी परेको छ । तर कारवाही हुन सकेको छैन । दूतावासले निज शेर्पाविरुद्ध नेपाल तथा मलेशियाका सम्बन्धित निकायमा आवश्यक अनुसन्धान र कारवाहीका लागि पत्राचारसमेत भएको दावी गरेको छ । अनधिकृत लेनदेनका कारण ठगीलगायत अन्य अपराधमा परी उजुरी गर्र्नुपर्ने भएमा मलेशियाको प्रहरी र अदालत तथा नेपाल प्रहरी र अदालतमा पीडित आफैँले उजुरी गर्नसक्ने दूतावासले जनाएको छ ।
 
दूतावासले प्रवेशाज्ञाको म्याद सकिएर वा अन्य कारणले अवैधानिक रुपमा बसोवास गरिरहेका नेपालीलाई वैधानिक बाटोबाट तत्काल नेपाल फर्कनसमेत आग्रह गरेको छ । वैधानिक रुपमा नेपाल फर्कन मलेशिया सरकारले बेलाबेलामा घोषणा गर्ने आममाफीको कार्यक्रमबाट फाइदा लिन सकिने दोहो¥याउँदै दूतावासले तत्कालका लागि आममाफीको व्यवस्था नभएको सन्दर्भमा मलेशियाको अध्यागमन कार्यालयमा तोकिएको दण्ड जरिवाना तिरी वैधानिक रुपमा नेपाल फर्कन सक्ने जनाएको छ । दूतावासले नेपालबाट जुन कम्पनीमा काम गर्न भनी आफैँले सम्झौतापत्रमा हस्ताक्षर गरी आएको हो सो कम्पनीको सम्झौता अवधि नसकी आफू खुशी नभाग्नसमेत आग्रह गरेको छ ।

 रोजगारदाताप्रति कुनै गुनासो भए दूतावासमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । तर दूतावासले आफूहरुको कुनै पनि गुनासो नसुनेको भन्दै नेपाली कामदारले पीडा मात्रै पोख्दै आएका छन् । तर श्रम मन्त्री गोकर्ण विष्ट समेत पछिल्लो समयमा मानव तस्करको स्वार्थ अनुसार काम गर्न उद्यत भएका छन् । नेपाली उखानअनुसार मन परेको केटो जेठाजु प¥यो भने जस्तै श्रम मन्त्री विष्टको व्यवहारका कारण नेपाली नागरिक दिन प्रतिदिन ठगिदै आएका छन् । मन्त्री विष्टले कामदार ठगी प्रकरण रोक्न कुनै पनि पहल नगरेको भन्दै पीडितले चर्को गुनासो गर्दै आएका छन् । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया