ढुकुटीमा भ्रष्टाचारीको रजाइँ, कोरोना विरुद्धको खोप किन्न सरकारले माग्यो चन्दा

३ बर्ष अगाडि

नेपालमा कोरोना भाइरसको महामारी शुरु हुनेवित्तिकै उपप्रधानमन्त्री इश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायतको पहलमा ओम्नी समूहसँग मिलेर भएको भ्रष्टाचार काण्ड सेलाउन नपाउँदै सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि जनतासँग चन्दा अभियान शुरु गरेको छ । ओम्नीलाई स्वास्थ्य सामग्री किन्नका लागि दिएको ठेक्कामा भ्रष्टाचार भएको र गुणस्तहिन सामान ल्याएर बिध ल्याव चलाएको सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपका लागि खोप कोष स्थापना गरेको भन्दै सार्वजनिक सूचना जारी गरेर खोप किन्न चन्दा मागेको हो । 

मन्त्रालयले बुधबार सार्वजनिक सूचना पजारी गर्दै कोषमा योगदानतार्थ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संस्थालगायतलाई सहयोगका लागि आह्वान गरेको छ । 

कोषमा योगदान गर्ने दाताहरुसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा गरिने भन्दै यससम्बन्धी सहयोगका लागि अग्रसरता लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोषको आय व्यय सरकारले अबलम्बन गरेको लेखा प्रणाली बमोजिम राखिनुका साथै लेखा परीक्षण प्रचलित कानुम बमोजिम गरिने उल्लेख गरेको छ । 

मन्त्रालयका अनुसार हाल परीक्षण भएका कोरोनाविरुद्धको खोप प्रभावकारी भइरहेको अवस्थामा लक्षित समूहलाई निःशुल्क उपलब्ध गराउन ठूलो धनराशि खर्च हुने भएकाले आर्थिक सहयोग आह्वान भएको हो । 

मन्त्रिपरिषद्को पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कोष खडा गर्नका लागि स्वीकृति दिएको बताइएको छ । सहयोग गर्न चाहनेले कोष तथा लेखा नियन्त्रणको कार्यालय त्रिपुरेश्वरको खाता नम्बर १७००१००१०२०६०००० मा रकम जम्मा गर्न सक्नेछन् ।

मिडियाले ओम्नी सँगको ठेक्कामा अनियमितता भएको प्रमाण सार्वजनिक गरेपछि ठेक्का सम्झौता रद्ध गरेको सरकारले ति सामानहरु बिध ल्याव नामको कम्पनी खोलेर बिक्री वितरण गरेको विषयमा भने सबै मौन छन् । ठेक्का सम्झौता तोडिएपछि अलपत्र परेका गुणस्तरहिन सामान विध म्यानेजमेण्ट कम्पनीको नामबाट देशभर विक्री भएका थिए । 

त्यसपछि कोरोना भाइरसको परिक्षणका लागि भन्दै गुणस्तरहिन सामान प्रयोग गरेर बिध ल्याव खोलीएको छ । जसमा ओम्नी समूह, उपप्रधानमन्त्री पोखरेल, तत्कालिन उर्जामन्त्री वर्षमान पुन, तत्कालिन स्वास्थमन्त्री भानुभक्त ढकालका सल्लाहकार डा. खेम कार्की लगायतको लगानी रहेको उक्त ल्यावले सञ्चालमाध्यमलाई विज्ञापनका नाममा अग्रिम रुपमै रकम भुक्तानी समेत गरेको छ । 

यस बाहेक खोपका लागि चन्दा माग्ने सरकारले यति होल्डिङ्स प्रालिलाई नेपाल ट्रष्टका नाममा रहेका सम्पत्ती कौडीका भाउमा भाडामा दिएर कमिसन असुलेको, सेक्युरिटी प्रेस खरिदमा करोडौँ कमिसन मागेको लगायतका काण्ड सार्वजनिक भइसकेका थिए । सेक्युरिटी प्रेस खरिद काण्डमा ७० करोड कमिसन मागेको रेकर्ड सार्वजनिक भएपछि तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा समेत दिएका थिए । तर पूर्वमन्त्री बाँस्ककोटाले सो कुराको खण्डन गर्दै आएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटाको बचाउ गर्दै आएका छन् । 

त्यस्तै कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै संसदको लेखा समितिले ठहर गरेर मुद्धा हेर्न अख्तियारलाई निर्देशन दिएपनि सो फाइल अहिलेसम्म रोकेर राखिएको छ । 
सरकार, मन्त्रीहरु र कर्मचारी भ्रष्टाचारमा चुर्लुम्म डुबेर जनतालाई महामारीबाट बचाउन खोप किन्न पनि चन्दा माग्नु निर्लज्र्जताको पराकाष्टा भएको टिप्पणी आउन थालेको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया