रेमिट्यान्स् झण्डै ११ प्रतिशतले बृद्धि, चार खर्ब १६ अर्ब ८१ करोड भित्रियाे

३ बर्ष अगाडि

चालु आर्थिक वर्षको पाँच महिनामा नेपालमा रेमिट्यान्स झण्डै ११ प्रतिशतले बृद्धि भएको छ । 

नेपाल राष्ट्र बैंकले को वित्तीय स्थिति बुधबार सार्वजनिक गर्दै नेपालमा यो वर्ष चार खर्ब १६ अर्ब ८१ करोड विप्रेषण आप्रवाह भएको जनाएको हो । 

बैंकका अनुसार अमेरिकी डलरका आधारमा यो वृद्धि ६ दशमलव ४ प्रतिशत हो । यो भनेको पाँच महिनाको अवधिमा नेपालमा करिब ३ अर्ब ५२ करोड डलर विप्रेषण भित्रिएको छ ।

पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेपनि नेपालमा बैधानिक प्रणालीबाट रेमिटान्स भित्रम क्रम बढेसँगै वृद्धिदर बढेको हाे ।

साथै कोरोना पश्चात वैदेशिक रोजगारीमा जाने कामदारले टिभी, घडी, सुनजस्ता जिन्सी सामान खरिद गरेर ल्याउन छाडेकाले पनि रेमिटान्स भित्रने क्रम बढेको हो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो ।

यसैगरी शोधनान्तर स्थितिमा समेत सुधार आएको छ । चालू आबको पहिलो ५ महिनामा देशको शोधनान्तर स्थिती १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२३ अर्ब ३० करोडले बचतमा रहेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया