‘एउटा यस्तो प्रेम कहानी’ लाई प्रदर्शकले ५५ प्रतिशत सेयर दिने

३ बर्ष अगाडि

आज देखि रिलिज भएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ लाई प्रदर्शकले ५५ प्रतिशत सेयर दिने भएका छन् ।
कोरोना भाइरस संक्रमणपछि रिलिज भएको पहिलो चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’का निर्मातालाई सिंगल थिएटर र मल्टिप्लेक्स सिनेमा हल दुवैले ५५ प्रतिशत सेयर दिने भएका हुन् । 

यो चलचित्रमा अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले रजतपटमा डेब्यु गरेका छन् । 

यसअघि सिंगल थिएटरबाट निर्माताले पचास प्रतिशत सेयर पाउँदै आएका थिए भने मल्टिप्लेक्सले पहिलो हप्ता पचास, दोस्रो हप्ता ४५, तेस्रो हप्ता ४० र बाँकी हप्तामा ३५ प्रतिशत सेयर दिँदै आएका थिए । 

एक समयका चल्तीका अभिनेता शिव र सदाबहार अभिनेत्री करिश्माका छोराछोरी अभिनित भएकाले पनि दर्शकमा चासो धेरै देखिएको छ । 

आफ्नो छोरा शक्तिलाई डेब्यु गराउन पनि शिव श्रेष्ठले सिनेमा हल सञ्चालन गर्न निकै दौडधुप गरेका थिए । पुराना अभिनेता भएकाले पनि उनलाई धेरैले चिन्छन् । सोहीकारण पटकपटक सञ्चार मन्त्रालय पुगेर सञ्चारमन्त्री पार्वत गुरुङसँग हल खुला गर्न प्रस्ताव गरे । उनी केही दिनअघि मात्र बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीलाई भेटेर सिनेमा हल खुलाउन आग्रह गरेका थिए । उनले प्रधानमन्त्रीलाई भेटेपछि लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड अपनाएर सिनेमा हल खुला गर्न अनुमति दिएको हो । 

चलचित्रमा शिव श्रेष्ठ, आयुष्मान देशराज जोशी, प्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।

फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा यशोधा राई र दिनेश दर्शनाधारीको लगानी छ । चलचित्रमा खुम तामाङ, सुनिल कटुवाल, रामनारायण शाह, दिनेश थापामगर, तारा तुलाधर सह–निर्माताको रुपमा छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया