अमेरिकामा सय दिनमै १० करोडले कोरोनाको भ्याक्सिन पाउने

३ बर्ष अगाडि

काठमाडौं- आफ्नो कार्यकालको सुरुवाती १ सय दिनभित्र १० करोड जनतालाई खोप लगाउने लक्ष्य नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले बनाएका छन् । यद्यपी, मार्चसम्ममा ‘सुपर कोभिड’ हाबी हुनसक्ने चेतावनी रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सिडिसी० ले दिएको छ ।  

बाइडेनले शुक्रबार दिउँसो  डेलावेरस्थित विलमिङटनबाट पत्रकार सम्मेलन गर्दै आफ्नो योजना सुनाएका हुन् । जाडोयाममा अमेरिकीहरुले निकै सास्ती व्यहोर्नुपरेपनि ठूलो लक्ष्यसहित अमेरिकाले कोभिडमाथि नियन्त्रण हासिल गर्ने अपेक्षा उनले गरे ।

 ‘खासमा हामी निकै खराब जाडोयाममा छौं । संक्रमण दर झन्डै ३४ प्रतिशत छ । अहिलेसम्मकै धेरै मानिसहरु कोरोनाका कारण अस्पताल भर्ना भएका छन् । दैनिक ३ वा ४ हजार मानिसहरुको मृत्यु भइसकेको छ,’ बाइडेनले भने,‘मलाई आशा छ हामीले यसलाई नियन्त्रणमा ल्याउनेछौं र अहिलेको यो समय ठूलो लक्ष्य तयार तथा त्यसलाई साहस र आत्मविश्वासका साथ हासिल गर्ने समय हो किनकी हाम्रो देशको स्वास्थ अहिले जोखिममा छ ।’

अमेरिकामा संक्रमितहरुको संख्या बढ्दै गर्दा खोपको आपुर्ति पर्याप्त मात्रा हुन सकेको छैन । कसलाई पहिले खोप लगाउने भनेर रोज्न स्वास्थ अधिकारीहरुलाई मुस्किल छ । १५ जनवरीसम्म फाइजर र मोडर्ना कम्पनीका भ्याक्सिनले अमेरिकामा प्रयोगको अनुमति पाएका छन् । 

यता, सिडिसीले एक नयाँ अध्ययनमा चेतावनी दिएको छ कि सुपर कोभिड आगामी महिनामा प्रभावशाली स्ट्रेन हुनसक्छ । बी.१.१.७ भनेर चिनिने  यो स्ट्रेन अमेरिकामा फैलनसक्ने र यसले महामारीलाई आगामी दिनमा बढाउनसक्ने सिडिसीको चिन्ता छ । ‘धेरै प्रमाणहरुले देखाएका छन् कि सार्स–कोभ–२ का अन्य भेरियन्टस्भन्दा बी.१.१.७ धेरै प्रभावकारी रुपमा फैलनसक्छ,’ सिडिसीले आफ्नो रिपोर्टमा जनाएको छ । 

कोभिड महामारी सुरु भएयता शुक्रबार विश्वभर मर्नेको संख्या २० लाख नाघेको  छ । अमेरिकामा अहिलेसम्म यो भाइरसबाट ४ लाख १ हजार ८ सय ५६ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा २ लाख ४१ हजारभन्दा धेरैमा कोराना संक्रमण पुष्टि भइसकेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया