मोदीले समय नदिएपछि नभेटी फर्के परराष्ट्रमन्त्री ज्ञवाली

३ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उनीसँग भेट नगरी स्वदेश फर्केका छन् । पालैपालो दुई देशमा हुँदै आएको नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका बेला पाहुना देशका परराष्ट्रमन्त्रीले सरकार प्रमुखसँग भेट्ने परम्परा रहँदै आएको थियो ।

आयोगको पाँचौं बैठक गत वर्ष भदौमा काठमाडौंमा भएका बेला भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका थिए । तर नेपाली पक्षले विशेष प्रयास गर्दा पनि ज्ञवालीले प्रधानमन्त्री मोदीसँग भेट्न पाएनन् । ज्ञवाली शनिबार स्वदेश फर्कने अन्तिम घडीसम्मै भेटको समय मिलाउन नेपाली पक्ष प्रयासरत थियो । दिल्लीस्थित नेपाली दूतावासले मोदीसँगको भेटका लागि ज्ञवाली भारत आउनुअघिदेखि नै प्रयास गरेको थियो । मोदीसँग भेट हुन नसकेको विषयमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले टिप्पणी गर्न चाहेनन् ।

परराष्ट्रमन्त्री ज्ञवाली नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुन बिहीबार दिल्ली आएका हुन् । प्रधानमन्त्री मोदीले भेटका लागि समय नदिनुलाई नेपालको पछिल्लो राजनीतिक परिस्थितिसँग पनि जोडेर हेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयपछि विकसित घटनाक्रमलाई कुन रूपमा हेर्ने भन्ने विषयमा दिल्ली केही समय ‘पर्ख र हेर’ को रणनीतिमा रहेको संकेतका रूपमा समेत यसलाई विश्लेषण गरिँदै छ ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाको निर्णयपछि गहिरिएको राजनीतिक पृष्ठभूमिमा भएको ज्ञवालीको भारत भ्रमणलाई विशेष चासोका साथ हेरिएको थियो । दिल्लीमा रहँदा ज्ञवालीले भारतीय नेतृत्व पंक्तिसँग भेटेर पछिल्लो अवस्थाबारे जानकारी गराउने र प्रतिनिधिसभा विघटनसम्बन्धी निर्णयको औचित्य पुष्टि गर्ने अपेक्षा गरिएको थियो । तर दिल्लीमा ज्ञवालीसँग भएको भेटमा भारतीय पक्षले नेपालको आन्तरिक राजनीतिबारे खासै चासो नराखेको स्रोतको दाबी छ ।

मन्त्री ज्ञवालीले शनिबारका कार्यक्रममा पनि प्रतिनिधिसभा विघटनको निर्णयको बचाउ गर्ने प्रयास गरे । उनले शनिबार बिहान भारतीय पत्रकारहरूसँगको भेटमा प्रतिनिधिसभा विघटनको निर्णयलाई सरकारले ‘लामो समयदेखि सामना गरेको समस्याको परिणामका रूपमा’ अर्थ्याए । ‘संसदीय व्यवस्थामा बहुमतको प्रधानमन्त्रीले ताजा जनादेशमा जानुपर्छ भन्ने ठानेका बेला चुनावको घोषणा गर्ने विश्वव्यापी स्थापित अभ्यास हो,’ उनले भने । उनले लोकतन्त्रमा जनतालाई मुलुकको भविष्यबारे निर्णय गर्ने अधिकार भएको समेत जिकिर गरे । प्रधानमन्त्री ओलीले सरकारको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न सहज नहुने ठानेपछि प्रतिनिधिसभा विघटन गर्दै ताजा जनादेशमा जाने निर्णय गरिएको तर्क पनि उनले गरे । दिल्लीमै शनिबार भएको अर्को कार्यक्रममा पनि ज्ञवालीले सरकारले विगत तीन वर्षमा हासिल गरेका उपलब्धिको फेहरिस्त प्रस्तुत गर्दै प्रतिनिधिसभा विघटनको बचाउ गरेका थिए । ‘जनतालाई सार्वभौम बनाउन ताजा जनादेशमा जाने निर्णय लिइएको हो । यो चुनाव जनताको चाहना व्यक्त गर्ने र लोकतान्त्रिक जगलाई थप बलियो बनाउन महत्त्वपूर्ण अवसर बन्ने छ,’ उनको भनाइ थियो ।

मन्त्री ज्ञवालीले शनिबार बिहान भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए । लगत्तै रक्षामन्त्री सिंहले ट्वीटमा मन्त्री ज्ञवालीसँग ‘उल्लेखनीय भेटवार्ता भएको’ उल्लेख गरेका थिए । ‘भारतको नेपालसँगको सम्बन्ध सरकारमा मात्रै सीमित नभएर नागरिकस्तरको सम्बन्धबाट अघि बढेको छ । भारत–नेपाल सम्बन्धले असीमित सम्भावना बोकेको छ,’ उनले ट्वीट गरेका छन् । करिब ४५ मिनेट लामो भेटवार्तामा द्विपक्षीय सम्बन्धबारे सौहार्द छलफल भएको राजदूत नीलाम्बर आचार्यले बताए । उनका अनुसार ज्ञवाली र सिंहबीच दुई देशबीचका भावनात्मक, सांस्कृतिक, परम्परागत निकटताबारे छलफल भएको थियो । नेपाल मामिलाका जानकार मानिने सिंहसँगको भेटमा पनि नेपालको आन्तरिक राजनीतिक विषयमा कुनै छलफल नभएको राजदूत आचार्यले बताए ।

गत वैशाख २६ मा रक्षामन्त्री सिंहले नै नेपाली भूमिमा गएर बनाइएको कालापानी, लिपुलेक हुँदै मानसरोवर जोड्ने सडकमार्ग उद्घाटन गरेका थिए । त्यसपछि दुई देशबीचको सम्बन्ध तिक्ततापूर्ण बनेको थियो । नेपालले उक्त सडक उद्घाटनका विषयमा भारतलाई तत्कालै विरोध पत्र पठाएको थियो ।

विदेशी भूमिमा प्रचण्डको पनि परराष्ट्रमन्त्री हुँ’
मन्त्री ज्ञवालीले विदेशी भूमिमा आफू नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को समेत परराष्ट्रमन्त्री भएको जिकिर गरेका छन् । ओली सरकारको प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा भारतको पनि हात रहेको भन्ने दाहालको आरोपबारे भारतीय पत्रकारले राखेको जिज्ञासामा उनले त्यस्तो धारणा राखेका हुन् ।

‘विदेशी भूमिमा मन्त्रीका रूपमा म प्रचण्डजी र नेकपाबाट अलग भएको समूहको पनि नेतृत्व गर्छु, त्यो आरोपका विषयमा टिप्पणी गर्न चाहन्न,’ उनले भने । मन्त्री ज्ञवालीले आफू पूरै मुलुकको प्रतिनिधित्व गर्दै भारत आएको समेत जनाए । उनले प्रतिनिधिसभा विघटनको निर्णय आन्तरिक भएको र यसमा कुनै विदेशी शक्तिको हात नरहेको बताए । कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले खबर लेखेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया