शहर छोडेर गाँउमा ड्रागनखेती, वार्षिक ५० लाख आम्दानी !

३ बर्ष अगाडि

धेरै मानिस सेवासुविधाको खोजीमा शहरतिर बसाइँ सर्छन् । यसरी हिँडेका मानिस पुनःआफ्नै जन्मथलोमा फर्किएका कमै उदाहरण भेटिन्छन्, तर भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ८ गोगने सल्लेनीका कृषक शम्भु नेपाल भने २२ वर्ष विराटनगरमा बिताएर गाउँ फर्केर व्यावसायिक खेतीमा लागेका छन् । व्यवसाय गर्नका लागि विराटनगरमा रहेको घरलाई बिक्री गरेर गाउँ आएको उनले बताए ।
 
नेपालले अहिले आफ्नो पुर्खौली भूमिमा २२ रोपनी क्षेत्रफलमा ड्रागन फल र १८ रोपनी क्षेत्रफलमा कागतीको व्यावसायिक खेती गरिरहेका छन् । उनले एक हजार बोट कुरिलो, एभोकाडोलगायतका बिरुवासमेत लगाएका छन्  । 

उनले दानाबोटे फलफूल तथा कृषि फार्ममा अहिले एक हजार ५०० बढी पिलरमा ड्रागन फल लगाएका छन्  । दुई हजार ५०० पिलर पुर्याउने लक्ष्यका साथ खेतीलाई थप विस्तार गरिरहेको नेपालले बताए  । उनले तीन वर्षअघिबाट भोजपुरमा पहिलो पटक ड्रागन फलको व्यावसायिक खेती गर्न थालेको बताए । अहिले उनको फर्ममा रहेको ड्रागनले फल दिन शुरु गरेको छ । 

ड्रागन फलको खेतीका लागि मात्र हालसम्म रु १५ लाख बढी खर्च गरिसकेको नेपालले बताए । गत वर्षबाट सामान्यरुपमा त्यसले फल दिन थालेको उनले बताए । उनले ड्रागन खेतीबाट वार्षिक रु ५० लाख आम्दानी लिने लक्ष्य राखेका छन्  । उनले भारतबाट सोका बिरुवा ल्याएर खेती थालेको जानकारी दिए । 

अहीले आफैँले पनि ड्रागनका बिरुवा उत्पादन थालेको समेत जानकारी दिए । ड्रागन फल लागेको ४५ दिनमा खान मिल्नेछ यसको मूल्य स्थानीय बजारमा रु ७०० देखि रु एक हजारसम्म रहेको उनले जानकारी दिए । 

गत वर्ष कागती बिक्रीबाट रु १० लाख आम्दानी गरेको उनले जानकारी दिए । कोभिडका कारण यस वर्ष भने बिक्रीवितरणमा समस्या भएको उनको भनाइ छ । 

व्यावसायिकरुपमा खेती गरिरहेको भए पनि राज्यकातर्फबाट सहयोग नपाएको नेपालले गुनासो गरे । उनले गाउँका अन्य कृषकलाई समेत व्यावसायिक कृषिमा लाग्ने हौसला दिँदै आएको बताए। गाउँमा उत्पादन  भएको दूधलाई बजारसम्म पुर्याउनका लागि पहलसमेत थालेका छन्  । विभिन्न ठाउँमा दूध सङ्कलन केन्द्र स्थापना गरेर दूधलाई बजारसम्म लैजानका लागि काम गर्ने तयारी रहेको उनको भनाइ छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया