देशकै लामो झोलुङ्गे पुलको नामकरण गर्नुहोस्, २५ हजार नगद पाउनुहोस् !

३ बर्ष अगाडि

बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने  झोलुङ्गे पुलको नामकरणका लागि सम्भाव्य नाम पठाउन सार्वजनिक आह्वान गरिएको छ । कालिगण्डकी नदीमाथि बनेको  देशकै लामो (५६७ मि.) उक्त झोलुङ्गे पुलको शनिबार उद्घाटनका क्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उत्कृष्ट नाम दिने सर्जक÷व्यक्तिलाई पुरस्कारस्वरुप रु २५ हजार प्रदान गरिने घोषणा गरे  ।

 विश्वभर रहेका नेपालीले इमेललगायतका माध्यमबाट नाम पठाउन सकिने नगरपालिकाले जनाएको छ ।विश्वकै लामो भनेर दाबी गरिएको उक्त झोलुङ्गे पुललाई राष्ट्रिय÷अन्तरराष्ट्रियस्तरमा पहिचान दिलाउने गरी नामकरण गर्न लागिएको हो ।

नामकरण गर्दा त्यसको भाव र सौन्दर्य पक्षलाई पनि मूल्याङ्कनमा मापन गरिने नगरपालिकाले जनाएको छ । ५६७ मिटर लामो र १३८ मिटर अग्लो उक्त झोलुङ्गे पुलको विसं २०७५ चैत ९ गते शिलान्यास गरी निर्माण थालिएको थियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभाग, सस्पेन्सन ब्रिज डिभिजन कार्यालयमार्फत रु १२ करोड २२ लाखको लागतमा पुल निर्माण गरिएको हो ।

निर्माण कम्पनीले सम्झौता अवधिभन्दा तीन महिनाअगावै पुल सम्पन्न गरेको भए पनि कोभिड–१९ का कारण उद्घाटन पछाडि धकेलिएको थियो । सर्वसाधारणको आवतजावतका लागि भने गत साउनदेखि नै पुल खुला गरिएको थियो ।

उद्घाटन समारोहमै मन्त्रालयका सचिव एकनारायण अर्यालले नगरप्रमुख पौडेललाई पुल हस्तान्तरणको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । पुललाई विश्वकै लामो झोलुङ्गे पुलका रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा दर्ता गर्न नगरपालिकाले प्रक्रिया अघि बढाएको जनाइएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया