तलब मात्रै रू ४ अर्ब बुझ्छन् त्रिभुवन विश्वविद्यालयका कर्मचारी

३ बर्ष अगाडि

त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्रै वार्षिक करिब ४ अर्ब रुपैयाँ खर्च हुने गरेको पाइएको छ ।

त्रिवि मातहत रहेका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक, सहायक प्राध्यापक, शिक्षण सहायक लगायतका लागि मात्रै वार्षिक अनुमानित ३ अर्ब ८७ करोड १६ लाख ७० हजार ७६० रुपैयाँ तलब स्केलमा खर्च हुने गरेको छ । यसरी हेर्दा त्रिविमा अध्यापन गर्नेहरूको मासिक तलबमा अनुमानित ३२ करोड २६ लाख ३९ हजार २३० रुपैयाँ खर्च हुने गरेको देखिएको त्रिवि आर्थिक प्रशासन महाशाखाले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

त्रिविको २०७६ साउन १ गतेदेखि लागू भएको तलबमान अनुसार प्राध्यापकका लागि वार्षिक ४१ करोड २१ लाख ३८ हजार ५६० रुपैयाँ खर्च हुने गरेको छ । सहप्राध्यापकका लागि वार्षिक १ अर्ब २५ करोड ४२ लाख ४३ हजार ३६० रुपैयाँ खर्च हुने गरेको छ ।

त्रिवि आर्थिक प्रशासन महाशाखाका अनुसार उपप्राध्यापकका लागि तलबमा मात्रै वार्षिक १ अर्ब ४८ करोड २७ लाख ५३ हजार ६०० रुपैयाँ खर्च हुने गरेको छ ।

सहायक प्राध्यापकका लागि वार्षिक १७ लाख २७ हजार ५२० रुपैयाँ तलबमा खर्च हुने गरेको देखिएको छ । त्रिविमा प्राध्यापक वा सोसरह पदमा कार्यरतको तलब स्केल मासिक ६० हजार ६८० निर्धारण गरिएको छ । त्रिविमा शिक्षण सहायकका रूपमा कार्यरतहरूले मासिक ३५ हजार ९९० रुपैयाँ बुझ्ने गरेका छन् । 

शिक्षण सहायकमा कार्यरतको लागि वार्षिक ७२ करोड ८ लाख ७ हजार ७२० रुपैयाँ तलब स्केलमा खर्च हुने गरेको छ ।

सहप्राध्यापकको ४७ हजार ३८०, उपप्राध्यापकको ४० हजार ३८०, सहायक प्राध्यापकको ३५ हजार ९९० कायम गरिएको छ । हाल त्रिवि मातहत ५६६ प्राध्यापक, २ हजार २०६ सहप्राध्यापक, ३ हजार ६० उपप्राध्यापक, सहायक प्राध्यापक ४ र शिक्षण सहायक १ हजार ६६९ जना कार्यरत छन् । हाल त्रिवि अन्तर्गत ६२ आंगिक र १ हजार ६२ सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयका उपकूलपतिले तलब स्केलबापत मासिक ७१ हजार ९८० रुपैयाँ बुझ्दै आएका छन् । हाल त्रिविको उपकूलपतिमा प्रा.डा. धर्मकान्त बाँस्कोटा रहेका छन् ।

तलब स्केलबापत शिक्षाध्यक्षले मासिक ७० हजार १००, रजिस्ट्रारले ६९ हजार ८५०, त्रिवि सेवा आयोग सदस्यले ६९ हजार ७४०, डीन कार्यकारी निर्देशक र परीक्षा नियन्त्रकले ६८ हजार ७४० रुपैयाँ बुझ्दै आएको त्रिवि आर्थिक प्रशासन महाशाखाले उपलब्ध गराएको विवरणमा उल्लेख छ । हाल त्रिविमा ७ हजार ९६६ जना शिक्षकका रूपमा कार्यरत रहेका छन् भने ७ हजार २३० जना कर्मचारीका रुपमा कार्यरत रहेका छन् ।

त्रिविमा शिक्षकको तलबमा वार्षिक करोडौं खर्च भए पनि केही शिक्षकले विद्यार्थीमैत्री व्यवहार नगरेको, अध्यापनमा पर्याप्त समय नदिएको गुनासो आउने गरेको छ । राजधानी दैनिकमा खबर छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया