प्रचण्डले माघ १६ पछि आमहड्ताल गर्ने, दिए यस्तो चेतावनी

३ बर्ष अगाडि

काठमाडौं – नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १६ गतेपछि आफूहरु आमहड्तालमा जाने चेतावनी दिएका छन् । 

अबका कार्यक्रम दैनिक सशक्त बन्दै जाने भन्दै उनले आगामी माघ १६ पछि प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध आमहड्तालमा जाने चेतावनी दिए । त्यसका लागि तयारीमा लाग्न पनि प्रचण्डले नेता–कार्यकर्तालाई निर्देशन दिए । 

सोमबार आफू निकट अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको मात्र नभइ संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रकै विघटन गरेको आरोप लगाए । 
‘प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको होइन, त्यो अधिकार पनि उहाँलाई छैन । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको हो । त्यसकारकारण आन्दोलनको विकल्प छैन । ढिलो गर्न पनि हुँदैन । जनताको अदालत सवैभन्दा माथि हुन्छ’ उनले भने ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई हुर्किँदै गरेको बच्चाको संज्ञा दिँदै त्यसलाई बचाउन जनअदालतको फैसला सुनाउन आवश्यक रहेको पनि बताए ।  
उनले प्रधानमन्त्री ओलीको सोच पहिलेदेखि नै प्रतिगमनकारी रहेको उल्लेख गर्दै अहिले आएर त्यो पुष्टि पनि भएको बताए ।  

प्रचण्डले ओलीले पार्टी एकताका बेला संविधान, पार्टी विधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति गरेको हस्ताक्षर पनि किर्ते रहेको दावी गरे  । ‘उहाँको सम्पूर्ण सोच प्रतिगमनकारी रहेको कुरा अहिले प्रमाणित भएको छ । पार्टीका विधिविधान नमान्ने, समावेशी समानुपातिक नचाहने ओलीले अन्ततः संविधान नै भत्काए’, प्रचण्डको आरोप थियो । प्रचण्डले जनताको बहुदलीय जनवाद छोड्ने पहिलो व्यक्ति पनि ओली नै भएको जिकिर गरे ।

ओलीले पार्टी एकता बेला सवैले हस्ताक्षर गरेको विचार र विधि विधानभन्दा बाहिर गएर नेकपा फुटाएको पनि प्रचण्डले दावी गरे । 

‘ओलीले पार्टी एकताका बेलाको विचार छोडेकाले उहाँ फुटबादी हो । केन्द्रीय समितिबाट पारित राजनीतिक प्रतिवेदन नै पार्टी एकताको आधार थियो । तर उहाँले त्यो छोड्नुभयो । अव तपाईंहरु नै छुट्याउनुस् को हो फुटवादी रु’, प्रचण्डले आक्रोशित हुँदै भने । 

उनले ओलीले एकताका बेलाको विचार स्वीकार गरेको भएमात्रै पनि समस्या नआउने अवस्था रहेको सो क्रममा बताए ।

३ बर्ष अगाडि

प्रतिक्रिया