ठेकेदारको लापरवाहीले काममा ढिलाइ

३ बर्ष अगाडि

काठमाडौं - पश्चिम जाजरकोटको छेडागाड नगरपालिका–१३ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुगेको छ । पहिलो चरणमा १३ नम्बरको कार्कीगाउँमा पुगेको र हप्ता दिनभित्र अन्य ठाउँमा विद्युत् पुग्ने लक्ष्य रहेको जाजरकोट वितरण केन्द्रका प्रमुख विशाल लामिछानेले बताए ।

विद्युत् पुगेसँगै गरिब तथा विपन्नलाइ निःशुल्क मिटर बक्स वितरणको काम शुरु भएको छ । विद्युतीय सुरक्षाका कामसमेत गाउँगाउँमा अभियानका रूपमा चलाएको छ । दुई वर्षभित्र जिल्लाका सबै ठाउँमा विद्युत् पु¥याउने लक्ष्यका साथ काम शुरु गरिएकामा ठेकेदारले तोकिएको समयमा काम नगर्दा पूर्व तथा उत्तरी क्षेत्रमा लक्ष्यमा पुग्न समस्या भएको छ ।

नलगाड नगरपालिका र कुशे गाउँपालिकामा विद्युत् पुर्याउनका लागि ठेक्का लिएको आरके इन्टरनेशनलले दुई वर्षदेखि काम नगर्दा समस्या हुँदै आएको छ । पोल गाडेको दुई वर्ष बिते पनि बत्ती कहिले बल्छ भनी स्थानीयवासीले प्रश्नको ओइरो लगाएको प्रमुख लामिछानेले बताए ।

उता डोल्पासम्म लाइन विस्तार गर्नका लागि जाजरकोटको पूर्वी क्षेत्रसम्म छिटो लाइन विस्तार गर्नुपर्ने बाध्यता छ । तासुगाड जलविद्युत् आयोजना, जगदुल्ला जलविद्युत् आयोजना लगायतका काम गर्नका लागि समेत विद्युत् लाइन छिटो पुग्नुपर्ने अवस्था छ । त्यस्तै नलगाड जलविद्युत् आयोजना निर्माणका लागि समेत काम छिटो बन्नुपर्ने छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया