पर्यटक आकर्षणका लागि बुद्धिष्ट पर्यटन केन्द्र बनाइने

३ बर्ष अगाडि

काठमाडौं - बुद्धिष्ट पर्यटनको केन्द्र बनाइने भएको छ । छिट्टै सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध विमानस्थल भएर विभिन्न मुलुकबाट धेरैभन्दा धेरै बुद्ध धर्माबलम्बि पर्यटक आकर्षणका लागि उक्त केन्द्र बनाइने भएको हो  । 

यसका लागि विभिन्न प्रवद्र्धनात्मक अभियान सञ्चालन भइरहेको बताइएको छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा विमानस्थल सञ्चालनमा आएसँगै विभिन्न मुलुकबाट  पर्यटक आकर्षणका लागि सरोकारवाला संस्थाले प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाएका हुन् । 

यसै सन्दर्भमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच नेपालको पर्यटन प्रवद्र्धन र बुद्धदर्शनको विस्तारमा पारस्परिक सहयोगका माध्यमले अगाडि बढ्नेसम्बन्धी हालै समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
    
निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र विश्वविद्यालयका उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौताअनुसार पर्यटन क्षेत्रमा दिगो विकासमा सहयोग पुग्ने गरी उड्डयन तथा पर्यटन क्षेत्रमा उच्च गुणस्तरको जनशक्ति तयार गर्न दुवै संस्थाका बीच प्रयास गरिनेछ । लुम्बिनी क्षेत्रका साथै नेपालका अन्य बुद्धिष्ठ क्षेत्रमा पर्यटन विकासमा दुवै संस्थाले प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नेछन् ।
    
निगमका महाप्रबन्धक लुम्बिनी विमानस्थललाई बुद्धिष्ट पर्यटनको हबका रुपमा विकास गर्ने उद्देश्यले निगमले बुद्धिष्ट बाहुल्य भएका मुलुकमा नियमित उडान सञ्चालन गर्ने योजना रहेको बताए । 
    
नेपालको बहुआयामिक विकासका लागि उड्डयन क्षेत्रका साथै पर्यटन क्षेत्रको प्रवद्र्धनमा संयुक्त प्रयास गरिने कुरा सम्झौतामा समावेश गरिएको छ । उड्डयन र पर्यटनका क्षेत्रमा अनुसन्धानात्मक क्रियाकलाप अगाडि बढाउन र राष्ट्रिय एवं अन्तरराष्ट्रियस्तरमा संस्कृति परम्परालाई विस्तार गर्ने लक्ष्य लिइएको समझदारीपत्रमा उल्लेख छ ।
    
लुम्बिनी बौद्ध विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि पर्यटनसँग सम्बन्धित विषयमा प्रयोगात्मक अध्ययनको अवसर निगमले प्रदान गर्नेछ भने विश्वविद्यालयले आन्तरिक र अन्तरराष्ट्रिय उडानमा निगमको सेवालाई प्राथमिकता दिनेछ । 

लुम्बिनी विश्वविद्यालयमा उच्च शिक्षा लिने निगमका कर्मचारीका सन्तानलाई शुल्कमा विशेष छुट उपलब्ध गराइनेछ । यो सम्झौता हाललाई चार वर्षका लागि गरिएको छ र भविष्यमा नवीकरण गर्न सकिनेछ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया