टेलिकमले फाइभजी परिक्षण ४ सहरबाट गर्दै, कुन-कुन ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल टेलिकमले देशका ४ ठाउँबाट फाइभजी परीक्षण गर्ने भएको छ । त्यसका लागि टेलिकमले अध्ययनका लागि आन्तरिक तयारी अघि बढाएको हो ।

टेलिकमका अनुसार टेलिकम फाइभजी फ्रिक्वेन्सी निर्धारणको पर्खाइमा रहेको छ । फ्रिक्वेन्सी निर्धारणको कार्य सम्पन्न भएसँगै निर्देशन आएको खण्डमा टेलिकम फाइभजी सेवाको परीक्षणका लागि तयार रहेको छ । 

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजीका लागि फ्रिक्वेन्सी पहिचान गरी रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिसमक्ष सिफारिस गरिसकेको छ । 

प्राधिकरणले फाइभजी फ्रिक्वेन्सी पहिचानका लागि राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरम गठन गरेको थियो । उक्त फोरमले फाइभजीका लागि फ्रिक्वेन्सीका प्राधिकरणलाई सिफारिस गरेको थियो ।

उक्त फोरमले गरेको सिफारिसको आधारमा प्राधिकरण बोर्डले निर्णय गरी रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिसमक्ष सिफारिस गरेको हो । प्राधिकरणले ७००, ९००, २६००, ३३००, ३६००,४३०० र २६ गिगाहर्ज ब्यान्डमा फाइभजी फ्रिक्वेन्सी उपलब्ध गराउन सकिने गरी समितिलाई सिफारिस गरेको छ ।

अब सञ्चार तथा सूचना प्रविधिमन्त्री अध्यक्ष रहने उक्त समितिले प्राधिकरणले गरेको सिफारिसका आधारमा आवश्यक अध्ययन गरी निर्णय गर्नेछ ।

उक्त समितिबाट फाइभजी फ्रिक्वेन्सी निर्धारण भएर दूरसञ्चार प्राधिकरणबाट निर्देशन आएको खण्डमा फाइभजी परीक्षणका लागि टेलिकम तयार रहेको प्रवक्ता लोहियाले बताए । यो विषयमा हाल आन्तरिक रुपमा अध्ययनको काम भइरहेको समेत उनले बताए ।

टेलिकमले हाल काठमाडौं, पोखरा, विराटनगर र वीरगञ्जमा फाइभजी परीक्षणका लागि गृहकार्य गरिरहेको जनाएको छ । यसअघि नेपाल टेलिकमले फोरजी सेवा विस्तारका लागि र्‍यान नेटवर्क विस्तारतर्फ चाइना टेलिकम्युनिकेसन सर्भिस इन्टरनेसनल (सीसीएसआई) र कोर नेटवर्क विस्तारको जेडटीईसँग सम्झौता गरेको गरेको थियो । 

सोही सर्तका आधारमा अब उक्त जिल्लाहरुमा फाइभजी परीक्षणको तयारी अघि बढेको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया