गोली लागेको बालकलाई ‘तल्लो जात’ भन्दै कसैले नछुँदा उपचार नपाएर शहिद

३ बर्ष अगाडि

काठमाण्डौं । तत्कालिन नेकपा माओवादीले गरेकाे जनयुद्धका पहिलाे शहिद ११ बर्षका दिलबहादुर रम्तेल दलित भएकै कारण उपचार नपाएर मृत्यु भएकाे उनका साथी राम भट्टले बताएका छन् । ०५२ साल फागुण १ मा राज्यको दमनमा पहिलो पटक मारिएका गोरखाका रम्तेल गाेली लागेर घाइते भएपनि दलित भएकाे कारण उपचार नपाएर मृत्यु भएकाे भट्टले बताएका हुन् । 

गोरखामै बसेको बैठकले माओवादी जनयुद्धमा जाने निर्णय गरेको थियो । त्यसकाे केहीदिनपछि स्कुलका एक जना शिक्षकलाई माओवादी भएको आरोपमा प्रहरीले गिराफ्तार गरेकाे थियाे । शिक्षक पक्राउ परेपछि हेर्न गएकारूमाथी प्रहरीले गाेली चलाएकाे थियाे । गाेली लागेर भट्ट र रम्तेल घाइते भएका थिए । घाइते मध्ये 

कसरी मारिएका थिए दिल बहादुर ? राम भट्टले दिल बहादुर रम्तेलको सम्झनामा लेखेको पत्रको केही अंश:

दिल बहादुर, तिमी मेरो मिल्ने साथी थिर्यौ । उमेर र कक्षा नमिले पनि हाम्रो दौतरी मोजाको फुटबल खेल्ने बेला देखि नै मिल्थ्र्यौ । गाउँ कै ब्रम्हचारिणी स्कुलबाट हाम्रो भेट भयो र बिछोड पनि । अझै मन कटक्क दुख्छ ,त्यो दिन सम्झँदा जुन दिन हामी अनाहकमै कक्षा छोडेर रमिता हेर्न गयौं । नजाने पनि कुनै कारण थिएन , अरु सबै साथीहरु पनि त गएकै थिए । पहिलो पल्ट गाउँमा पुलिसले मान्छे समातेको समाचार सुन्नमा आयो । अर्को विद्यायका वीरबहादुर प्रिन्सिपललाई समातेको हेर्न र हुल बाँधेर मान्छे गए छोइदिन्छन् भनेर हामी पनि गएका थियौं । कति अजिवको रमिता थियो त्यो पुलिसले मान्छे समातेको । सायद, समातिएका सर छोडेको भए ?पुलिसले अन्धाधुन्ध गोली नचलाएको भए ?तिमीलाई र मलाइ गोली नलागेको भए ?आहा कति रमाइलो रमिता हुन्थ्यो त्यो क्षण ।

अझै सम्झन्छु दिल, जब जोडले कुनै कुरा पड्केको आवाज आयो, मेरो पेटमा केहि कुराले छेडिसकेको थियो । तिमी माथिल्लो गरामा लडिसकेका थियौ । हामीलाई गोली लागेको खबर सुन्ने बितिकै मेरो बुबा आएर मलाई उपचारका लागि लिएर गए तर तिमीलाई उपचारका लागि लाने मान्छे खोज्न हम्मे पर्यो । तल्लो जातको भएकै कारणले तिमीलाई त्यही छोडेर गए । कसैले छुन मानेनन् , तिम्रा बुबा आफनो मान्छे खोजेर आउँदा ढिला भैसकेको थियो । पछि सुन्छु, मलाइ त्यही रात काठमाडौं पुर्याए तर तिमीले बीच बाटोमै प्राण त्याग्यौं । मलाई अझै सम्म मन भित्र गड्ने कुरा नै यही बन्यो की मेरो बाल्यकालको मिल्ने साथी दलित कारण समयमा उपचार नपाएर मर्नु पर्यो । यो समाजले तिमीलाई जनयुद्धको प्रथम सहिद बनाइदियो र मलाई प्रथम घाइते ।

समाजले के भन्ला भन्ने प्रवाह नगरी हामी संगै खेल्थ्यौं, संगै खान्थ्यौं । मलाई अझै याद छ जब हामी खेलेर हाम्रो घर आएर पानी खान्थ्यौं आमाले तिमीलाई अम्खोरा छुन दिनुहुन्नथ्यो तर म तिमीलाई लुकाएर दिन्थे ।
दिल, गोलीले जरजर बनाएको मेरो ज्यान अझै निको भइसकेको जस्तो लाग्दैन । बिसेक होला भन्ने पनि लाग्दैन । नियमति औषधि खाएर बसेकै छु । कहिलेकाहीँ त लाग्छ तिमीसंगै बर मरेर गएको भए यत्रो सास्ती त भोग्नु पर्दैनथ्यो । उहिले घाउबाट पीप निस्किँदा स्कुलमा सबैले “अब रामे मर्छ” भनेर जिस्क्यिाउँथे । आजभोली समाजले “जिउँदो शहीद” भनेर गिज्याउँछन् । राम्रो ओखतीमुलो नपाएरै त मलाई सबैले गिज्याए जस्तो लाग्छ । नत्र त थोरै भए पनि सम्मान त मिल्थ्यो होला नि ! हगी ?

देशमा यत्रो परिवर्तन ल्याउने क्रममा बलिदानी दिएको तिम्रो त्यागको कदर किन गरिदैन ?किन तिम्रो घरको हालत अझै उस्तै छ जस्तो ५२ को आसपास थियो ?किन अझै सेते काका बुढो ज्यान लिएर खेतमा जोतिनु हुन्छ ?किन सरीमाया काकी अझै एक गाग्री पानी थाप्न उकालो ओरालो गर्नुहुन्छ ?यो सबै देख्दा तिमीलाई पनि समाजले गिज्याएजस्तो लाग्छ ।

त्यो १० वर्षको बीचमा हजारौं परिवारमा हाम्रो जस्तै पीडा थपियो । तिमी जस्ता हजारौं मरे, म जस्तो हजारौ घाइते बने । आज पनि छोरा गुमाएका हजारौ आमाबुबाहरु आफनो सन्तानलाई किन मारियो भन्ने जवाफ कुरिरहेका छन् । अझै कति कुर्नुपर्ने हो , त्यो थाहा छैन । तर तिम्रो सम्मानको लागि र हामीले पाउनुपर्ने न्यायको लागि भने सदैव लड्ने नै छु । निरन्तर आशा जगाइदिने तिम्रो अनुहार म सधैँ सम्झिन्छु …………

राम भट्ट


 

३ बर्ष अगाडि

प्रतिक्रिया