महिला लघुवित्तको आईपीओ भर्नेलाई दिनभर हैरानी, कहिले हेर्न पाउँछन आफनो नतिजा ?

३ बर्ष अगाडि

महिला लघुवित्त वित्तिय संस्थाको प्राथमिक शेर (आईपीओ) भर्नेहरुले नतिजा हेर्न नपाएर हैरानी व्यहोर्नु परेको छ । शुक्रबार बिहानै शेयर बाँडफाँट भएपनि नतिजा हेर्न मिल्ने वेबसाइटहरु नखुलेका कारण आफूलाई शेयर परे/नपरेको नतिजा हेर्न नपाएर हैरानी ब्यहोर्नु परेको हो । 

यसभन्दा अगाडि धेरै अनलाईनले निःशुल्क रुपमा आईपीओको नतिजा हेर्न मिल्ने ब्यवस्था गरेको भएपनि यसपटक सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि)ले गोपनियताको कारण भन्दै तीनवटा वेवसाइटबाट मात्र नतिजा हेर्ने व्यवस्था गरेको छ । 
सीडीएससीको आफनै वेबसाइट मेरो शेयर, महिला लघुवित्तको वेबसाइट र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको वेबसाइटमा नतिजा हेर्न व्यवस्था गरेको भनिएपनि यी तीनवटै वेवसाइटहरु शुक्रबार दिनभर खुलेका छैन । अक्कल झुक्कल खुलेपनि यी वेवसाइटहरुमा नतिजा नै देखाउँदैन । 

ति वेबसाइटहरु सीमित भिजिटर आउने अनुमानका साथ डिजाइन गरिएका छन् । तर अहिले बिना तयारी नतिजा हेर्ने भन्दै सार्वजनिक गरेपछि आईपीओका लागि आवेदन दिएका १५ लाखभन्दा बढी लगानीकर्ताले एकै पटक साइट भिजिट गरेपछि ट्राफिक लोड परेको छ। जसको कारण एकै पटक १० औँ लाख मानिस ओइरिएपछि साइटले भार थाम्न सकिरहेका छैनन्।

महिला लघुवित्तले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको थियो। लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

शुक्रबार दिनभर हैरानी ब्यहोरेका सर्वसाधारणले कहिलेसम्म आफ्नो लगानीको नतिजा हेर्न नपाउने हुन भन्ने विषयमा भने अन्यौल कायमै छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया