वैदेशिक रोजगारीका नाममा ७ महिनामा २८ करोड ठगी, संस्थागतभन्दा व्यक्तिगत दोब्बर

३ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगारीका नाममा गत आर्थिक बर्षको सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ । 

वैदेशिक रोजगार विभागका अनुसार संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ । व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ ८ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी विभागमा परेका छन् ।

व्यक्तिगततर्फ २ सय २४ उजुरी परेकामा विभागले माघसम्म ६४ वटा मुद्दा अदालतमा दायर गरेको छ । अदालतमा ११ करोड ४८ लाख बिगो दाबी गरिएको छ । गत वर्ष पहिलो ६ महिनामा व्यक्तिगततर्फ २ सय ४६ उजुरी दर्ता भएकामा १ सय ४१ वटा मुद्दा अदालतमा दायर गरिएको थियो ।

विभागका अनुसार व्यक्तिगत ठगीका मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमार्फत अदालतमा दायर गरिने छ । संस्थागत (म्यानपावर) ठगीका उजुरीमा विभागले पीडित र सञ्चालकबीच छलफल गराई बिगो फरफारक गराउँदै आएको छ । संस्थागततर्फ माघसम्म २ सय ५८ उजुरी परेका छन् । ८ करोड १८ लाख बिगो दाबी गरिएकोमा विभागले ६ करोड ८८ लाख रुपैयाँ बिगो भराएको छ ।

कोरोनाका कारण वैदेशिक रोजगार ठप्प भएको समय (साउन, भदौ र असोज)मा मात्र २ करोड १५ लाख ७७ हजार रुपैयाँबराबरको ठगी भएको उजुरी परेको थियो । कोरोना भाइरसको समयमा ठगी हुने क्रम बढेको देखिएको छ ।

विभागले जरिवानाबापत माघसम्म म्यानपावरबाट ५० लाख रकम असुलेको छ । त्यसैगरी, गत आर्थिक वर्ष पुससम्म विभागले ५१ लाख ५० हजार जरिवाना असुलेको थियो ।

बिनास्वीकृति अन्तर्वार्ता लिने दर्जनौं म्यानपावर विभागको कारबाहीमा परेका छन् । त्यस्तै, भिजिट भिसामा पठाउन तल्लीन म्यानपावरलाई पनि कारबाही गरिएको छ । 

१८ म्यानपावरलाई आंशिक तथा पूर्ण कारोबार रोक्काको कारबाही गरिएको विभागले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया