दैनिक एक करोड ७१ लाख लिटर पानि वितरण गर्दै हेटौँडा खानेपानी बोर्ड

३ बर्ष अगाडि

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो उत्पादनलाई वृद्धि गरी दैनिक एक करोड ७१ लाख ५० हजार लिटर पुर्याएको छ । बोर्डले पछिल्लो समय दैनिक २७ लाख लिटर पानी वितरण गर्न मिल्ने समवेल समेत शुभारम्भ गरेको छ  । 

मकवानपुरको भीमफेदी गाउँपालिकास्थित रामरीमा रहेको नेपाली सेनाको मध्यपृतना, हेडक्वाटरको जग्गामा रु एक करोड २५ लाख लगानीमा समवेल निर्माण गरिएको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए । बोर्डले हेटौँडा उपमहानगरपालिकाअन्तर्गत आठ वडाका सबै भू–भाग र वडा नं १, १४, १५, १६, १७ र १९ का केही भू–भागमा बसोबास गर्ने १८ हजार ६०० घरधुरीका एक लाख ३५ हजार नगरवासीलाई बिहान साँझ गरी दैनिक सरदर छदेखि सात घण्टा पानी वितरण गरिरहेको छ । उनले  अठार  हजार ५००  धाराबाट दैनिक एक करोड ४१ लाख ५० हजार लिटर खानेपानी उत्पादन गरी वितरण गर्दै आइरहेकामा २७ लाख लिटर थपिएको बताए । 

सेनाले आफ्नो जग्गामा खानेपानीको समवेल निर्माण गर्न दिएर नागरिकमा गुन लगाएको उनले बताए । मध्यपृतनापति उपरथी अशोकराज सिग्देल क्षेत्रीले सेनाको जग्गा आम नेपालीको जग्गा भएकोले खानेपानीको समवेल निर्माणका लागि जग्गा उपलब्ध गराएको  जानकारी दिए । समवेलको निर्माणपछि आफ्ना तीन हजार सेनाका जवानलेसमेत पानी खान पाएको उनको भनाइ थियो । 

बोर्डका कार्यकारी प्रमुख सुदर्शन ढकालले उपमहानगरको खानेपानीको मागलाई सम्बोधन गर्ने जानकारी दिए  । उनका अनुसार पछिल्ला केही वर्षदेखि  उपमहानगरमा खानेपानीको समस्या छैन ।  बजार विस्तार हुनेक्रमअनुसार दैनिक तीनदेखि पाँच वटासम्म नयाँ धारा जडान गर्नुपर्ने भएका कारण खानेपानी वितरणको क्षमतालाई वृद्धि गर्नुपर्ने भएको हो । 

बोर्डको निरन्तरको सक्रियताका कारण खानेपानीको चरम अभाव झेलेको हेटौँडामा खानेपानी प्रशस्त हुँदै गएको छ । विगतमा हेटौँडामा खानेपानीको चरम अभाव हुने गरेको थियो ।  हेटौँडाको खानेपानी कार्यालय अगाडि पानीको माग गर्दै दैनिकजसो आन्दोलन र प्रदर्शन हुन्थ्यो । खानेपानीका कर्मचारीमाथि हातपातका घटनासमेत हुने गरेको थियो । बजारमा कर्मचारीले आफूलाई खानेपानीको कर्मचारीका रुपमा परिचय दिँदैन थिए ।

सुख्खायाममा पानीका स्रोत सुक्नाले पानीको कमी हुन्थ्यो भने वर्षायाममा पानीको झन् ठूलो समस्या हुन्थ्यो । वर्षासँगै आउने भेल खानेपानीको मुहानमा पस्ने र पानी धमिलो हुने समस्याले हेटौँडालाई धेरै सताएको थियो । अहिले अध्यक्ष एवं वरिष्ठ पत्रकार  विष्टको नेतृत्वमा रहेको हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड तथा  उपमहानगरको निरन्तर मेहनत, लगनशीलता र इमान्दारीका कारण काकाकुल बनेको हेटौँडालाई पर्याप्त र शुद्ध खानेपानी सेवाको सुविधा सहज भएको हो । खानेपानी संस्थानमार्फत खानेपानी बोर्डलाई हस्तान्तरण भएर आएपछि हेटौँडाको खानेपानी वितरणमा चमत्कारिक परिवर्तन आएको हो ।

बोर्डलाई हस्तान्तरण हुनुअघि हेटौँडामा खानेपानी संस्थानका करीब आठ हजार ग्राहक थिए । कर्मचारी थिए ७० जना बोर्डले धाराको सङ्ख्या बढायो भने कर्मचारीको सङ्ख्या घटायो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया