झण्डै ६ अर्बको  लगानीमा मच्छिन्द्रनाथको पुनः निमार्ण हुने

३ बर्ष अगाडि

काठमाडैँको असनमा  रहेको सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवं पुनर्निर्माणको काम प्रारम्भ भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज संयुक्तरूपमा भूमिपूजा गरेर पुनर्निर्माण एवं पुनःस्थापनाको शुभारम्भ गरेका छन् । 

विसं २०७२ को भूकम्पले क्षतिग्रस्त उक्त मन्दिर १० औँ शताब्दीमा मल्ल युगमा निर्माण गरिएको विश्वास छ । सेतो मच्छिन्द्रनाथलाई हिन्दू र बौद्घ धर्मावलम्बीले समान आस्थाका साथ पूजार्चना गर्दै आएका छन् । 

सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्घता जनाएको रु पाँच अर्ब ८० करोड आर्थिक सहयोगअन्तर्गत पुनर्निर्माण हुन लागेका २८ सम्पदामध्ये यो पहिलो परियोजना हो । सन् २०१७ मा ती सम्पदाको पुनर्निर्माण गर्न नेपाल सरकार र भारत सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्डअनुरूप पुनःस्थापना गरिने छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया