४१ करोड १७ लाख राजस्व चुहावट, ४ जनाविरुद्ध मुद्दा दायर

३ बर्ष अगाडि

काठमाडौं - राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा  चारजनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले ४१ करोड १७ लाख रुपैयाँ राजस्व चुहावट गरेको भन्दै उनीहरुविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको  हो । 

मोरङका तीन र वीरगन्जका एक व्यवसायीले राजस्व चुहावट गरेको भन्दै छुट्टाछुट्टै मुद्दा दायर गरेको विभागले जनाएको छ । विराटनगर महानगरपालिका–९ स्थित बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक तथा गोपाल फ्लोर मिल प्रालिका मुख्य कारोबारी सुरेशकुमार राठी, सञ्चालक सुमन राठी र प्रबन्धक गिरधरीलाल अग्रवालविरुद्ध मुद्दा दायर गरिएको छ । 

उनीहरुविरुद्ध राजस्व चुहावट गरेको भन्दै १५ करोड ३६ लाख ६३ हजार रुपैयाँ बिगो जरिवाना र कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको हो । उनीहरूले वास्तविक बिक्री आम्दानीभन्दा घटी देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकरसमेतको राजस्व चुहावटको कसुर गरेको विभागले जनाएको छ ।

त्यस्तै, विभागले वीरगन्ज उपमहानगरपालिका–१० स्थित रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फिन ट्रेडर्स प्रालिका सञ्चालक तथा प्रोपाइटर रजनीशकुमार गुप्ताले राजस्व चुहावट गरेको अभियोगमा २५ करोड ८० लाख ६५ हजार रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया