कालीगण्डकी करिडोर खण्डमा शुरु भयो कालोपत्रको काम

३ बर्ष अगाडि

काठमाडौं - दुई छिमेकी मुलुक भारत र चीन जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डमा कालोपत्र तथा स्तरोन्नतिको काम शुरु भएको छ । पर्वत खण्डअन्तर्गत रानीपानी–कुर्घा फलेवास खण्डको २३ किलोमिटर सडक कालोपत्र गर्ने कार्य आइतबारदेखि प्रारम्भ गरिएको हो । 

धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको कालीगण्डकी करिडोरअन्तर्गतको यो खण्ड आगामी दुई वर्षभित्रमा कालोपत्र हुनेभएको छ । आयोजनाको नियमित कामका लागि सहजीकरण भएमा र आवश्यक निर्माण सामग्रीको अभाव नभएमा ढिलासुस्ती नहुने कालीगण्डकी करिडोर आयोजनाका प्रमुख सुबोध देवकोटाले जानकारी दिए । 

पर्वतको विहादी गाउँपालिका–३ रानीपानीदेखि फलेवास नगरपालिकाको ढिकसम्मको खण्डका लागि आवश्यक बहुवर्षीय ठेक्काअन्तर्गत रु एक अर्ब २३ करोड बजेट विनियोजन भएको हो । 

बजेट विनियोजनसँगै बहुवर्षीय ठेक्काका लागिसमेत अर्थमन्त्रालयले स्वीकृत दिएपछि सडक कालोपत्रको काम शुरु हुन लागेको हो । सबै प्रक्रिया पुगेकाले अबको दुई सातापछि सडक कालोपत्रको काम तीव्र गतिमा हुने आयोजना प्रमुख देवकोटाले जानकारी दिए । कालीगण्डकी करिडोरको पर्वत खण्डको महत्वपूर्ण मानिएको रानीपानी–कुर्घा खण्डको ठेक्का निश्चित भएपछि विहादी र फलेवासका स्थानीयवासीसमेत हर्षित बनेका छन् ।  

यसैबीच पर्वतको फलेवास–६ देवीस्थानको ढिकमा आइतबार आयोजित एक कार्यक्रमकाबीच आयोजनाको शिलान्यास गरिएको हो । कालोपत्र कार्यको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गरेका छन् । सो अवसरमा उहाँले आफूले निर्वाचनअघि गरेका वाचा पूरा हुँदै गएको बताए । 

उनले अब पर्वत जिल्ला सडक सञ्जालले समृद्ध बनेको उल्लेख गर्दै कुनै पनि पालिका र वडामा जाँदा कच्ची बाटोमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए । पर्वत जिल्लाको मात्र नभएर राष्ट्रिय महत्वको आयोजना भएकाले समयमै काम सम्पन्न गर्न उनले आयोजनालाई निर्देशनसमेत दिएका छन् । 

अर्को प्रसङ्गमा अध्यक्ष तिमिल्सिनाले मुलुक समृद्धिको दिशामा अघि बढिरहेका बेला बहुमतको सरकारलाई काम गर्न नदिइएकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले दलहरुले मिलेर अघि बढ्नुपर्ने उल्लेख गर्दै व्यक्तिगत स्वार्थ र लाभका लागि कल, झगडा गर्न नहुने बताए । उनले जनताको विश्वासमाथि घात गर्नेहरुलाई खबरदारी गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा सांसद पदम गिरीले पर्वत जिल्लाको विकास निर्माणले दिन दोगुना रात चौगुना फड्को मार्दै गएको बताए । उनले यो सरकारको मुख्य लक्ष्य नै मुलुकको समृद्धि र विकास मात्र भएकाले सरकारले गरेका जनमुखी कामदेखि अत्तालिएर पार्टीभित्रकै शीर्ष नेताहरुले गिराउने चलखेल गरेको बताए । उनले यही सरकारबाट मात्र मुलुकको समृद्धि सम्भव भएकाले सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिए । 

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले कालीगण्डकी करिडोर आयोजनाको सडकले पूर्णता नपाउने बेलासम्म आफूले विश्राम नलिने बताए । 

उनले अबको दुई वर्षभित्रमा पर्वत खण्ड पूर्णरूपमा सम्पन्न हुनेगरी काम गर्न आयोजनालाई आग्रह गरे । भारतीय र चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन तथा धार्मिक रुटका रूपमा यो सडकलाई विकास गरिने मन्त्री लम्सालको भनाइ छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया