जनप्रतिनिधिले नै कोरोना खोप लगाउन नमानेपछि.....

३ बर्ष अगाडि

काठमाडौं - सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खोप अभियान सुरु गरेको छ । तर दाङका जनप्रतिनिधिहरू भने खोप लगाउन अनिच्छुक देखिएका छन् ।

कोरोना विरुद्धको खोप लगाउन जिल्लाका जनप्रतिनिधिहरू अनिच्छुक देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । 

कार्यालयले दिएको जानकारी अनुसार दोस्रो चरणमा जिल्लाका १० वटा स्थानीय तहका ५ सय ८० जना जनप्रतिनिधिलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम भए पनि करिब ४० प्रतिशत जनप्रतिनिधिले मात्र खोप लगाएका हुन् ।

जिल्लामा करिब ६० प्रतिशत जनप्रतिनिधिहरू विभिन्न बहानामा खोप लगाउन नचाहेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार कोरोनाविरुद्धको खोप अभियानमा प्रदेशका १२ जिल्लामध्ये दाङ पहिलो स्थानमा छ ।

जोखिमपूर्ण समूहमै रहेका जनप्रतिनिधिहरू नै कोरोनाविरुद्धको खोप अभियानमा सहभागी नहुँदा जनतामा राम्रो सन्देश नजाने बताइएको छ । दोस्रो अभियानअन्तर्गत जिल्लामा फागुन २ गतेदेखि १० गतेसम्म कोरोनाविरुद्ध खोप लगाइएको थियो ।

कोरोनाविरुद्धको खोप अभियानमा प्रहरीको सहभागिता पनि उत्साहप्रद नदेखिएको बताइएको छ । जिल्लामा रहेका करिब एक हजार प्रहरीमध्ये ७ सय १० जना प्रहरीले खोप लगाएका छन् । 

नेपाल पत्रकार महासंघ दाङ शाखाले स्वास्थ्य कार्यालयलाई कोरोना विरुद्धको खोप लगाउने ३ सय सदस्य संख्या दिए पनि अहिलेसम्म करिब ५० प्रतिशतले मात्रै खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया