लाखौँ मूल्यको माछा मरेपछि क्षतिपूर्ति माग

३ बर्ष अगाडि

काठमाडौं- एग्रोभेटले दिएको गलत औषधिका कारण पोखरीमा भएको लाखौँ मूल्यको माछा मरेको भन्दै माछापालक किसानले क्षतिपूर्ति माग गरेका छन् । सिरहाको मिर्चैया नगरपालिका–५ थानाचौकस्थित स्वस्तिका इन्टरप्राइजेजले दिएको गलत औषधिका कारण सिरहाकै कल्याणपुर नगरपालिका–१ बनिनियाँमा रहेको पोखरीको माछा मरेको भन्दै माछापालक किसान अमरप्रसाद यादवले क्षतिपूर्तिका लागि प्रहरीमा उजुरी दिएका हुन् । फिस चुना लिन गएकामा इन्टरप्राइजेजका सञ्चालकले दिएको सीयु सल्फ (कपर सल्फेट) र एउटा अक्सिलाइट (अक्सिजन) नामक दुईवटा औषधि प्रयोग गरेपछि पोखरीका सम्पूर्ण माछा मरेको किसान यादवले दुखेसो पोखे ।

इन्टरप्राइजेजका सञ्चालक जय साहले माछाको सबै समस्या सामाधान हुने भन्दै सीयु सल्फ (सल्फेट) र एउटा अक्सिलाइट (अक्सिजन) दिएको र त्यही औषधि प्रयोग गरेको २४ घण्टा नबित्दै माछा धमाधम मरेको उनको भनाइ छ ।

करिब दुई महिनाअघि मात्र यादवले सो पोखरी रु आठ लाखमा तीन वर्षका लागि ठेक्का लिएका थिए  । ठेक्का लिएलगत्तै हालेको विभिन्न प्रजातिका लाखौँ मूल्य बराबरका माछा सखाप भएको यादवले बताए । यता इन्टरप्राइजेजका सञ्चालक साहले आफ्नो औषधिले माछा नमरेको जिकिर गर्दै आएका छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया