यी हुन् मिलेर अपराध गर्ने २० बैंक तथा वित्तीय संस्था, २ अर्ब ६३ करोड बिगो दावी सहित १६७ जनालाई मुद्दा

३ बर्ष अगाडि

काठमाडाैं । नेपालमा बैंकका कर्मचारी मिलेर पछिल्लो चार वर्षमा २ अर्ब ६३ करोड भन्दा धेरैको बैंकिङ अपराध भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानबाट बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारीको मिलेमतोमा २ अर्ब ६३ करोड ९६ लाख ४८ हजार १ सय ८२ रुपैयाँ बिगो  बराबरको अपराध पुष्टि भएको हो । 

सीआईबीको अनुसन्धानबाट बैंकिङ अपराध गरेको पुष्टि भएका एक सय ६७ जनालाई मुद्दा चलाएको छ भने ६० जनालाई पक्राउ गरेको छ ।  पक्राउ परेका मध्ये ५० जना त बैंककै कर्मचारी छन् । त्यो मध्ये पनि १० जना बैंकका उच्च अधिकारी नै छन् । त्यस बाहेक ३८ जना ऋणीलाई पनि पक्राउ गरिएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा ९ वटा बैंकमा बैंकिङ अपराध र कर्जा घोटाला भएको छन् । सो वर्ष यति डेभलपमेन्ट बैंक, नेपाल बैंक, कृषि विकास बैंक न्युरोड शाखा), एनआईसी एशिया बैक, सिभिल बैंक बौद्ध शाखा, मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युट, माछापुच्छ्रे बैंक, तत्कालीन एपेक्स बैंक र सामुदायिक लघुवित्त वित्तिय संस्थामा बैंकिङ अपराधका घटना भएका थिए । सो वर्षको बैंकिङ अपराधमा संलग्न भएको अभियोगमा प्रहरीले ५३ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । 

यति डेभलपमेन्ट बैंकमा भएको घोटालामा १ करोड ४० लाख रुपैयाँ बिगो मागदाबी गरिएको थियो । नेपाल बैंकमा १५ करोड ५१ लाख ४३ हजार ९ सय ५ रुपैयाँ बिगो माग गरिएको थियो। कृषि विकास बैंक न्युरोड शाखामा भएको कर्जा घोटालामा ४ करोड ४२ लाख ७३ हजार ६ सय ११ रुपैयाँ बिगो माग गरिएको थियो ।

त्यस्तै एनआईसी एशिया बैंकमा भएको स्वीफ्ट ह्याकिङ प्रकरणमा ६ करोड ७४ लाख ११ हजार १ सय ८९ रुपैयाँ बिगो माग गरिएको थियो । सिभिल बैंक बौद्ध शाखामा भएको कर्जा अनियमितता प्रकरणमा ३५ लाख ६१ हजार ५ सय ४५ रुपैयाँ बिगो माग गरिएको थियो । मञ्जुश्री फाइनान्समा भएको बैंकिङ घोटालामा अभियुक्तहरूसँग ३ करोड २१ लाख ८ हजार ७ सय ७२ रुपैयाँ माग बिगो दाबी गरिएको थियो ।

माछापुच्छ्रे बैंकमा भएको घोटालामा एक करोड ४२ लाख रुपैयाँ बिगो माग गरिएको थियो । तत्कालीन एपेक्स बैंक हालको एनसीसी बैंकमा भएको कर्जा अनियमिततामा एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ बिगो दाबी गरिएको थियो । 

सामुदायिक लघुवित्तमा भएको घोटालामा पनि सीआइबीले २ करोड ५७ लाख ४४ हजार २ सय ५० रुपैयाँ बिगो माग गरेको थियो । उक्त आर्थिक वर्षमा जम्मा १ अर्ब ८६ करोड ६० लाख ७७ हजार एक सय ५७ रुपैयाँ बिगो माग दाबी गरेको थियो । यो आर्थिक वर्षमा मात्रै सीआइबीले ५३ जना कर्मचारी तथा ऋणीलाई पक्राउ गरि मुद्दा चलाएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा ८ वटा बैंकका  ६६ करोड ५७ लाख ३१ हजार २ सय १७ रुपैयाँ बराबरको अपराध भएको छ ।  सीआईबीले २९ जना बैंककै कर्मचारी तथा ऋणी पक्राउ परेका छन् । 

प्रहरीका अनुसार सो वर्ष किष्ट बैंकमा ५७ करोड ४४ लाख ८ हजार ४ सय ८९ बराबरको कर्जा अपचलन, सिटिजन्स बैंकमा भएको बैंकिङ घोटालामा १ करोड २८ लाख, सनराइज बैंकको मुद्दामा २२ लाख ७७ हजार ४ सय ५२ रुपैयाँ बिगो दाबी गरिएको छ । सो वर्षको अपराधमा संलग्न भएको अभियोगमा किष्ट बैंकका तत्कालीन सिइओ कमल ज्ञवाली जेल समेत चलान भएका छन् भने किष्ट बैंक हाल प्रभु बैंकमा गाभिएको छ ।

त्यस्तै सो वर्ष देव विकास बैंकमा १० लाख ८ हजार ९ सय २६ रुपैयाँ बराबरको कर्जा अपचलन भएको थियो । सो बैंक हाल कुमारी बैंकमा गाभिएको छ। राष्ट्रिय वाणिज्य बैंकको धुलिखेल शाखामा ४ करोड ७१ लाख २४ हजार रुपैयाँ बराबरको कर्जा अनियमितता भएको थियो । त्यस्तै कृषि विकास बैंकमा १ करोड १० लाख ८० हजार बराबरको किर्ते ऋण काण्ड भएको थियो ।  सीआइबीले मुद्दा अघि बढाएको छ ।

गत वर्ष अर्थात् आ.ब. २०७६/०७६ मा २ वटा बैंकमा ठूला आर्थिक अपराधका घटना भएका छन् । बैंक अफ काठमाडौंमा २ करोड ५० लाख १२ हजार ९७ रुपैयाँ र नेपाल बैंक लिमिटेडमा ५४ लाख ८४ हजार ४५ रुपैयाँ बराबरको कर्जा अनियमितता भएको छ । चालू आर्थिक वर्षमा ३ करोड ४ लाख ९६ हजार १ सय ४२ रुपैयाँ बिगो बराबरको बैङ्किङ कसूर भएको छ । त्यसमा सीआईबीले बैंककै १३ जना कर्मचारी र ऋणीलाई पक्राउ गरेर कारबाही अगाडि बढाएको छ ।  

चालू आवमा महालक्ष्मी विकास बैंकमा भएको कर्जा घोटालामा मुद्दा चलाइएको छ । ऋणी, मूल्याङ्कनकर्ता सहित ९ जनालाई उच्च अदालत पाटनमा बैंकिङ कसुरमा मुद्दा चलाइएको छ । उनीहरूबाट ७ करोड ७३ लाख ४३ हजार ६ सय ६४ रुपैयाँ बिगो भराउन माग गरिएको छ ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया