आइपिएल सुरु हुन दुई बाँकी, क्रिकेट कन्ट्रोल बोर्डले सार्वजनिक गर्यो ६ वटा नयाँ नियम !

३ बर्ष अगाडि

इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं संस्करण पर्सी शुक्रवार देखि सुरु हुदैछ । आइपिएलका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले केही नयाँ नियम बनाएको छ भने केही नियमलाई परिमार्जन गरेको छ । 

आइपिएलको पहिलो म्याच शुक्रबार साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर बेंग्लोरबीच हुनेछ ।
आइपिएलमा यस पटक कुनै पनि टिमले घरेलु मैदानमा खेल्न पाउने छैनन् । यसले गर्दा कुनै पनि टिमले मैदानमा घरेलु दर्शकको साथ पाउने छैनन् ।

नयाँ नियम अन्तर्गत आइपिएलको १४ औं संस्करणमा प्रत्येक टिमले ‘तटस्थ स्थान’ मा प्रतिस्पर्धा गर्नुपर्ने छ । 

यस्तै आइपिएलको १४ औं संस्करणमा अम्पायरले तेस्रो अम्पायरलाई मैदानबाट ‘सफ्ट सिग्नल’ दिने छैनन् । 

मैदानमा रहेको अम्पायर कुनै निर्णयमा पुग्नका लागि विश्वस्त नभएको अवस्थामा तेस्रो अम्पायरलाई ‘रेफर’ गर्ने क्रममा मैदानबाट ‘सफ्ट सिग्नल’ का रुपमा आफ्नो निर्णय दिनुपर्ने नियम छ । तर ‘सफ्ट सिग्नल’ लाई उल्टाउनका लागि पर्याप्त प्रमाण आवश्यक पर्ने भएकाले कतिपय अवस्थामा तेस्रो अम्पायरले समेत सही निर्णय दिन नसकेको अवस्था थियो । हालै भारत र इंग्ल्याण्डबीचको खेलमा ‘सफ्ट सिग्नल’ का बारेमा विवादसमेत भएको थियो । तर, आइपिएलको १४ औं संस्करणमा अम्पायरले मैदानबाट ‘सफ्ट सिग्नल’ दिन पाउने छैनन् । 

बीसीसीआईले आइपिएलको १४ औं संस्करणमा एउटा नयाँ नियम ल्याएको छ, जसअनुसार २० ओभरको खेललाई ९० मिनेटभित्र टुंग्याइसक्नुपर्ने छ । यसअघि २० औं ओभर ९० मिनेटमा सुरु गर्नुपर्ने बाध्यता रहे पनि अब भने ९० मिनेटभित्रै २० ओभर समाप्त गरिसक्नुपर्ने जनाइएको छ । 

बलिङ गर्ने टिमले निर्धारित समयभित्र म्याच समाप्त नगरेमा त्यस्तो टिमको कप्तानलाई १२ लाख रुपैयाँदेखि लिएर ३० लाख रुपैयाँसम्म जरिवाना हुनेछ । अम्पायरले कप्तानलाई एक म्याचका लागि प्रतिवन्धसमेत लगाउन सक्ने नियम बनाइएको छ ।  

‘शर्ट रन’ का बारेमा अब मैदानमा रहेको अम्पायरले नभई तेस्रो अम्पायरले अन्तिम फैसला गर्नेछ । मैदानमा रहेको अम्पायरले गरेको फैसलामा त्रुटि रहेमा तेस्रो अम्पायरले उक्त फैसलालाई उल्ट्याउन सक्नेछ ।

ब्याटिङ गर्ने टिमले जानाजान समय बर्बाद गरिरहेको छ भने चौथो अम्पायरले चेतावनी दिन सक्ने छ । बलिङ गरिरहेको टिमलाई निर्धारित समयभित्र खेल सक्नबाट रोक्ने उद्देश्यले ब्याटिङ टिमबाट समय खेल फाल्ने काम भइरहेको महसुस भएमा चौथो अम्पायरले चेतावनी दिन सक्ने र त्यस्तो चेतावनीबारे टिमको कप्तान र मेनेजर दुवैलाई जानकारी दिने व्यवस्था गरिएको छ ।

कुनै कारणबस बीचमा केही समय म्याच अवरुद्ध भएमा अवरुद्ध भएको समय पूर्ति गर्नका लागि प्रतिओभर ४ मिनेट १५ सेकेन्ड समय थपिने व्यवस्था गरिएको छ ।    

३ बर्ष अगाडि

प्रतिक्रिया