मेलम्ची वितरण: ३० किमीको पाइप प्रणाली बिग्रियो, ३०० स्थानका सडकमा पानी चुहावट !

३ बर्ष अगाडि

मेलम्चीको पानी वितरण गर्न बिछ्याइएको ३० किमीको पाइप प्रणाली सडक बनाउँदा बिग्रिएको छ । चक्रपथ क्षेत्रका अधिकांश स्थानमा सडक बनाउँदा पानी वितरण प्रणाली बिग्रिएकाले बनाउन लागिएको छ । वितरण प्रणाली पुनःनिर्माणका लागि अर्थ मन्त्रालयमार्फत बजेट माग गरिएको लिमिटेडका सूचना अधिकारी प्रजापतिले सुनाए। 

सडक बनाउँदा बिग्रिएको वितरण प्रणाली बनाउन रु १६ करोड लाग्ने प्रारम्भिक लागत अनुमान तयार भएको छ । यो प्रणाली पुनःनिर्माण नभएसम्म बिग्रिएको क्षेत्रमा पुरानै प्रणालीबाट पानी वितरण हुनेछ । 

पुरानो प्रणालीबाट पानी वितरण गर्दा महिनामा ३०० स्थानसम्ममा चुहावट हुनसक्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात र खानेपानी मन्त्रालयले गठन गरेको कार्यदलले यस्तो प्रतिवेदन तयार पारेको सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले राससलाई जानकारी दिए । 

सडक विभागका महानिर्देशकको संयोजकत्वमा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, सडक डिभिजन प्रमुख, केयुकेएल शाखा कार्यालयका प्रमुख रहेको समितिले प्राविधिक अध्ययन गरी यस्तो प्रतिवेदन तयार पारेको हो । चुहावट भएका स्थानमा तत्काल सडक निर्माणका लागि सरकारसँग बजेट माग गर्ने उनले बताए । यसको समन्वय खानेपानी मन्त्रालयले गरेको जनाइएको छ ।

छिटोभन्दा छिटो नयाँ वितरण प्रणालीबाट पानी वितरण गर्न सडक डिभिजन कार्यालय काठमाडौँले माग गरेको छ । पुरानो वितरण प्रणालीबाट गरेसम्म उपत्यकाका सडकमा पानी चुहावटका कारण खाल्डाखुल्डी हुने डिभिजन प्रमुख नेपालीले बताए ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया