नेपाल आयल निगमलाई पाक्षिक ८० करोड नोक्सानी !

२ बर्ष अगाडि

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आउने उतारचढावले नेपाल आयल निगमको घाटा न्यूनीकरण गर्ने लक्ष्यमा चुनौती थपिएको छ । विश्वबजारमा पेट्रोलियमको मूल्यमा आउने अन्तरले निगम चर्को दबाब पर्ने गरेको छ । पछिल्ला १५ दिनको तुलनामा फेरि भारतीय आयल निगम (आइओसी) बाट पेट्रोलियम पदार्थको मूल्यमा सामान्य थपघट भएर आएको छ । 

पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर सात रुपैयाँ ५४ पैसा, डिजेलमा एक रुपैयाँ २७ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर करीब ४१८ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । आइओसीले प्रत्येक अंग्रेजी महीनाको १ र १६ तारिखमा निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ । 

पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै पाक्षिक घाटा रु ८० करोड पुग्ने निगमको प्रक्षेपण छ । पछिल्लो १५ दिनमा मात्रै एलपी ग्यासमा रु ६० करोड घाटा पुग्ने अनुमान गरिएको छ । डिजेल, पेट्रोल र एलपी ग्यासमा घाटा रहे पनि मट्टितेल र हवाई इन्धनमा भने केही नाफा रहेको छ । मट्टितेल र हवाई इन्धनको खपत न्यून रहेकाले निगमको घाटा पूर्तिमा त्यसले उल्लेख्य हिस्सा ओगट्न सकेको छैन । गत मार्च महिनामा ६० हजार किलोलिटर पेट्रोल, दुई लाख तीन हजार लिटर डिजेल र ४७ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको थियो । 

निगमले आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रत्येक १५÷१५ दिनमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य समायोजन गर्दै आएको छ । सोहीअनुसार निगमले शुक्रबार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने थियो । तर निगमले मूल्य समायोजनको निर्णय गरिसकेको छैन । 

निगमले अप्रिल १ तारिखको मूल्यलाई आधार मानेर पछिल्लो पटक गत चैत २२ गते मूल्य समायोजन गरेको थियो । त्यतिबेला निगमले पेट्रोल, डिजेल÷मट्टितेलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको थियो । अहिले पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर रु १२०, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १०३ रहेको छ । 

नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य अझ बढी रहेको छ । भारतीय सीमाको रक्सौलसँग जोडिएको नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३०।४७ रुपैयाँ र डिजल प्रतिलिटर ३६।६३ रुपैयाँले नेपालतर्फ सस्तो रहेको छ । भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुँदा चोरीतस्करी गरी इन्धन भारततर्फ लैजाने गरेको पाइएको छ । इन्धन चोरी तस्करी रोक्न निगमले कडाइ गरेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया