मध्यपहाडी लोकमार्ग : ४० किलोमिटर कालोपत्रको काम सकियो

३ बर्ष अगाडि

भोजपुर–चखेवा भञ्ज्याङ मध्यपहाडी लोकमार्ग निर्माणको काम ९५ प्रतिशत सकिएको छ । सडकखण्डको ४२ किलोमिटरमध्ये ४० किलोमिटर कालोपत्रको काम सकिएको हो । 

यही वैशाख महीनाभित्र सम्पूर्ण काम सक्ने पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पाँचथरले जानकारी दिएको छ । कालोपत्रको काम भएकाले मौसमका कारण कठिनाइ भए पनि कामलाई गति दिइएको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालयका प्रमुख सुरेश न्यौपानेले बताए ।

तामाङ गोल्डेन गुड्सले आर्थिक वर्ष २०७२/७३ बाट कामको थालनी गरेको थियो । यसअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि लकडाउन, मौसमलगायतका कारण केही ढिला भएको निर्माण कम्पनीले जानकारी दिएको छ । 
खासगरी काम गर्ने समय पाँच महीना मात्र उपयुक्त हुने भएकाले काममा केही बाधा पुग्ने गरेको कम्पनीका इञ्जिनीयर शैलेन्द्र मल्लले जानकारी दिए । 

सडकको निर्माण लागत करीब रू। ६५ करोड रहेको छ । सडक निर्माणको काम दुई प्याकेजमा भइरहेकोे छ । पहिलो प्याकेजको काम पूर्णरूपमा सम्पन्न भएको छ । दोस्रो प्याकेजको दुई किलोमिटर मात्र कालोपत्र गर्न बाँकी रहेको कम्पनीले जानकारी दिएको छ ।

सडक निर्माण भइरहेको स्थलको टेम्केमैयुङ गाउँपालिकाले अनुगमन गरिरहेको छ । कम्पनीको कामको गति हेर्दा काम वैशाखभित्रै सम्पन्न हुने देखिएको गाउँपालिका अध्यक्ष धु्रवराज राईले बताए । 

अध्यक्ष राईले भने, ‘कामको गति हेर्दा यही वैशाखभित्र सम्पन्न हुने देखिएको छ । कामलाई गुणस्तरीय तवरबाट समयमा सम्पन्न गराउन हामीले निर्वाह गर्ने भूमिका गरिरहेका छौँ । सडक निर्माणले पूर्णता पाएपछि यहाँका स्थानीयवासीलाई सहजता थपिने छ ।’

सडक निर्माण सम्पन्न भएपश्चात जिल्लाको विकासमा टेवा पुग्ने देखिएको छ । सडक विस्तारले गति लिएपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा समेत वृद्धि भएको छ । सडकको सहज पहुँच भएपछि पर्यटकीय क्षेत्र टेम्केडाँडा, चखेवा भञ्ज्याङलगायत स्थानमा मानिस पुग्न थालेका छन् । 

साथै सडकको सहज पहुँचले उत्पादित कृषि उपजलाई बजारसम्म पुर्‍याउनसमेत सहज भएको स्थानीयवासीको भनाइ छ । स्थानीयवासी प्रेम राईले भने ‘सडक कालोपत्र भएपछि यहाँ अन्तरिक तथा बाह्य पर्यटकको आवतजावत बढेको छ भने कृषि उपजलाई बजारसम्म पुर्‍याउन सहजता भएको छ ।’

३ बर्ष अगाडि

प्रतिक्रिया