दैनिक नयाँ रेकर्ड बन्दै गरेको भारतमा सक्रिय कोरोना संक्रमित कति ? दिल्लीमा लकडाउन !

२ बर्ष अगाडि

एजेन्सी - कोरोना भाइरस संक्रमणको नयाँ लहरबाट भारत नयाँ रेकर्ड बनिदै गएको छ। भारतमा दैनिक ठूलो संख्यामा नयाँ संक्रमित थपिँदै जाँदा सक्रिय संक्रमितको संख्या २० लाख नजिक पुगेको छ ।

कोरोना भाइरस संक्रमितहरुको विश्वव्यापी आँकडा अद्यावधिक गर्दै आएको वर्ल्डोमिटरका अनुसार, भारतमा सोमबार अपराह्न साढे २ बजेसम्म सक्रिय संक्रमितको संख्या १९ लाख २९ हजार नाघेको छ ।

यस्तै, हालसम्म भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ करोड ५० लाख नाघेको छ । कुल संक्रमितमध्ये एक करोड २९ लाख ५३ हजार ८०० को हाराहारीमा संक्रमणमुक्त भएका छन् । 

त्यस्तै हालसम्म संक्रमणबाट एक लाख ७८ हजार ७९३ जनाको मृत्यु भइसकेको छ । भारतमा केही दिनयता दैनिक रुपमा दुई लाख ७० हजारको हाराहारिमा नयाँ संक्रमित थपिँदै आएका छन् । 

दिल्लीमा लकडाउन
कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएर स्थिति नियन्त्रणबाहिर जाने देखिएपछि दिल्लीमा सोमबार रातिदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरिएको छ । दिल्ली सरकारले १९ अप्रिल राति १० बजेदेखि २६ अप्रिल बिहान ५ बजेसम्म विभिन्न मापदण्ड तोकेर लकडाउन जारी गरेको हो । 

सरकारी कार्यालयहरुमा ५० प्रतिशत मात्र कर्मचारी आएर काम गर्ने, निजी कार्यालयहरुले घरबाटै काम गर्ने व्यवस्था मिलाउने, मेट्रो तथा बस सेवा सञ्चालनमा रहे पनि क्षमता भन्दा आधा संख्याका यात्रु मात्र चढाउने जस्ता मापदण्ड बनाइएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया