सार्वजनिक यातायात सञ्चालनमा नयाँ नियम

३ बर्ष अगाडि

काठमाडौंमा सार्वजनिक यातायात सञ्चालनमा नयाँ नियम लागू गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै काठमाडौंमा मंगलबार बसेको बैठकले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको निर्णय कार्यान्वयन प्रभावकारी ढंगले गर्ने निर्णय भएको हो । 

जसअनुसार सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा  र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए । 

यस्तै चालक तथा सहचालकले मास्क र भाइजर लगाउने, सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित गर्ने, यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा रु १० लिइ मास्क उपलब्ध गराइने उनले बताए । 
यस्तै लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी सुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण सीसीसीएमसीलाई उपलब्ध गराइने पनि पराजुलीले बताए । 

बैठकमा  यातायात व्यवसायीले स्थानीय रुटमा चल्ने गाडीको भाडा बढाउन माग गरेका थिए । तर, प्रमुख जिल्ला अधिकारीले सिट क्षमता भन्दा बढी यात्रु नचढाउन मात्रै भनेकाले भाडा बढाउने भन्ने कुरा नहुने बताएका थिए । यद्यपि उनले यसबारे आफूले यातायात व्यवस्था विभागमा आवश्यक पहल गर्ने भने बताएका थिए । 

यातायात व्यवसायीसहितको सरोकार वालासहितको सो बैठकबाट मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनको सन्दर्भमा अनुगमन संयन्त्र गठन गरिएको छ । 
जसमा संयोजक यातायात व्यवस्था विभागको प्रतिनिधि रहनेछन् भने महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिकाको नगर प्रहरी, यातायात व्यवसायी, यातायात मजदुर संगठनको तर्फबाट पनि प्रतिनिधि रहनेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया