प्रदेश नं १ मा दुर्घटनाबाट ४०२ को मृत्यु

३ बर्ष अगाडि

कोरोना कहरको अवधि मानिएको २०७७ सालमा प्रदेश नं १ मा सवारी दुर्घटनामा मानवीय क्षतिको घटना बढेको पाइएको छ । विसं २०७६ मा ३८१ को सवारी दुर्घटनामा मृत्यु भएको तर २०७७ मा मृत्युको सङ्ख्या बढेर ४०२ पुगेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।

उनका अनुसार २०७७ सालमा प्रदेशभरि दुई हजार ६४५ वटा सवारी दुर्घटना भएको र चार हजार ५४ घाइते भएका थिए । जबकी २०७६ सालमा दुर्घटना सङ्ख्या एक हजार ४०५  मात्र थियो भने घाइते सङ्ख्या दुई हजार ४१२ थियो । कोरोना कहरका बेला २०७७ सालमा प्रहरीले अवैध काठ चोरी निकासी, नदीजन्य पदार्थको दोहन र भन्सार चोरी निकासीका घटनामाथिको कारवाही पनि बढेको पाइएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएअनुसार सो वर्ष काठ चोरी निकासी कार्यमा संलग्न ५५ अभियुक्त पक्राउ परेको र तीन हजार एक क्युफिट काठ बरामद भएको थियो । विसं २०७६ मा १९ जना अभियुक्त पक्राउ परेका थिए । ७६४ क्युफिट काठ बरामद भएको थियो । विसं २०७७ मा प्रदेशभरि नदीजन्य पदार्थको दोहनमाथिको कारवाहीका क्रममा १४१  अभियुक्त पक्राउ परेका र ७०६ थान सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सोही अभियोगमा २०७६ सालमा ८४ मात्र पक्राउ परेका थिए भने ३०७ थान सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीको अभिलेखमा पाइएको छ । भन्सार चोरी निकासी नियन्त्रणतर्फ प्रदेशभरि २०७७ सालमा १५० अभियुक्त पक्राउ परे भने २०७६ मा ७० जना मात्र पक्राउ परेका थिए ।  प्रदेशभरि अपराधका मुद्दा दर्ता भने २०७७ सालमा घटेको पाइएको छ । प्रहरीको अभिलेखअनुसार सो वर्ष छ हजार ८७६ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए । विसं २०७६ मा सात हजार ७६३ वटा मुद्दा दर्ता भएका थिए ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया