स्वदेश फर्किने व्यवस्थाको माग गर्दै नेपाली कामदारहरुले दूतावासमा दबाब बढाउन थाले

२ बर्ष अगाडि

काठमाडौं -  करार अवधि सकिएका नेपाली कामदारहरुले विदेशस्थित नेपाली दूतावासमा स्वदेश फर्किने व्यवस्थाको माग गर्दै दबाब बढाएका छन् । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेपछि करार अवधि समाप्त भई स्वदेश फर्किनुपर्ने कामदारहरुले आफुहरुको टिकटको अवधि समाप्त हुने भन्दै स्वदेश फर्किने प्रवन्ध गर्न दबाब दिन थालेका हुन् ।

सरकारले वैशाख २३ गते अर्थात गत बिहीबारदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ । नेपालमा संक्रमण दैनिकरुपमा बढ्दै गएकोले अन्तर्राष्ट्रिय उडान खुल्ने समयको टुंगो नभएपछि स्वदेश फर्किनु पर्ने कामदारहरुले नेपाली दूतावासहरुलाई स्वदेश फर्कने प्रवन्ध गरिदिन दबाब बढाएका हुन् ।

राष्ट्रिय मानव अधिकार आयोगले गत वर्षको लकडाउनको अवधिमा गरेको अध्ययनमा अन्तर्राष्ट्रिय उडान रोकिएका कारण घर फर्किने अवस्था सहज नहुँदा अनभिलेखवद्ध, घरेलु श्रमिक, गर्भवती, रोजगारी, आम्दानी गुमाएका र सूचनामा पहुँच नभएका श्रमिकहरू थप जोखिममा रहने निष्कर्ष निकालेको थियो ।

भिजिट भिसामा गएकाहरु आफु अलेखवद्ध भएको हुँदा स्वास्थ्य सेवालगायत अन्य सहयोग लिन जाँदा थप अप्ठ्यारोमा पर्ने डर हुने भएका कारण उनीहरूमा त्यस्तो सेवा लिन जान हिच्किचाहट भई थप समस्यामा पर्ने समेत आयोगको निष्कर्ष छ ।

अलेखवद्ध कामदारहरुलाई बिना विश्राम, खाना र बिदा तोकिएको भन्दा बढी कार्यघण्टा काम गराइने गरिए पनि उनीहरुलाई सहायता उपलब्ध गराउन सहज नहुने भन्दै आयोगले त्यसतर्फ सरकारले समयमै ध्यान दिनुपर्ने सुझाव दिएको छ । 

कतिपय कामदारहरुले नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गर्नुअघि नै स्वदेश फर्किन हवाई टिकट किनिसकेका र त्यसरी टिकट किनेका ठुलो संख्याका कामदार रोकिनु पर्दा उनीहरूमाथि खर्चको ठुलो भार थपिएको र केहीलाई खाना र आवासको समस्यासमेत  देखिने  आयोगको भनाइ छ ।  

मलेसियामा नयाँ कामदार नजाँदा करार अवधि सकिएर घर फर्किनु पर्ने कामदारको वर्क पर्मिट सकिएको एक वर्ष भन्दा लामो सयमसम्म पनि एक्जिट पर्मिट नदिई जवर्जस्ती काममा लगाउने गरिएको छ । 

अघिल्लो पटकको लकडाउनमा सरकारले उद्धार उडान शुरु नगर्दा खाडीका ६ मुलुक तथा मलेसिया जस्ता श्रम गन्तव्य मुलुकहरुबाट स्वदेश फर्किनु पर्ने कामदार बढी समस्यामा परेका थिए । तत्काल स्वदेश फर्किने प्रवन्ध नभएमा मलेसियामा जवर्जस्ती काममा लगाउने समस्या बढ्न सक्ने भन्दै द्वितीय सचिव कार्कीले नेपाली दूतावासलाई लिखितरुपमा जानकारी गराउन आग्रह गरे ।

२ बर्ष अगाडि

प्रतिक्रिया