नेपालीहरुमाथि यात्रा प्रतिबन्ध बढ्दो, प्रत्यक्ष असर वैदेशिक रोजगारमा जाने कामदारलाई

२ बर्ष अगाडि

काठमाडौं - कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढेपछि नेपालीमाथि यात्रा प्रतिबन्ध लगाउने विदेशी मुलुकहरुको संख्या थपिँदै गएका छन् । विदेशी मुलुकहरुले नेपालमाथि यात्रा प्रतिबन्ध लगाउन थालेका कारण त्यसको प्रत्यक्ष मार वैदेशिक रोजगारमा जाने कामदाहरहरु माथि परेको हो ।

माल्दिभ्सले नेपाली कामदारका लागि वर्क पर्मिट बन्द गरेको बताएको छ । नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत र पाकिस्तानका नागरिकलाई वर्क पर्मिट दिन बन्द गर्ने माल्दिभ्स सरकारको निर्णय आइतबारबाट कार्यान्वयनमा आएको छ ।

यसअघि भिसा पाएका विदेशी कामदार माल्दिभ्स प्रवेश गरेमा तोकिएका होटलहरुमा अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने नियम माल्दिभ्सको छ । माल्दिभ्समा निर्माण मजदुरदेखि नेपालका चिकित्सकहरुले रोजगारी गर्दै आएका छन् ।

 नेपालमा कोरोना संक्रमित बढेपछि मलेसिया, सिंगापुर, जापान र कुवेतले प्रतिबन्ध लगाएकोमा आइतबार बेलायत पनि थपिएको छ । नेपालमाथिको प्रतिबन्ध १२ मे ९२९ वैशाख०बाट कार्यान्वयनमा आउने बेलायतद्वारा जारी ट्राभल एड्भाइजरीमा उल्लेख गरिएको छ । 

बेलायतले पछिल्लो १० दिन नेपालमा रहेका वा नेपाललाई ट्रान्जिट बनाएका विदेशी नागरिक बेलायत छिर्न नपाउने बताएको छ । बेलायतले अत्यावश्यक काम नपरेसम्म नेपाल यात्रामा नजान समेत आफ्ना नागरिकलाई सचेत गराएको छ ।

उता साउदी अरबको रियादस्थित नेपाली दूतावासमा कार्यरत थप कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दूतावासले तीन दिन सेवा स्थगित गरिएको जनाएको छ । दूतावासले आइतबार एक विज्ञप्ति जारी गर्दै संक्रमण बढेका कारण भौतिकरुपमा उपस्थित भई गरिने सेवा प्रवाह रोकिएको जनाएको हो । यसअघि दूतावासका एक जना कर्मचारीमा संक्रमण देखिँदा सेवा मे ६ सम्म बन्द गरिएको थियो ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया