साढे ५ अर्ब लागतको मिस्ट्रीखोला आयोजनाबाट ४२ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडियो

२ बर्ष अगाडि

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बिहीवारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । 

माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट९मेवा० क्षमताको मिस्ट्रीखोलाले दाना सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा विद्युत् पठाएको हो । आयोजनाका आवासीय इञ्जिनियर दिवाकर खड्काले तीन ओटै युनिटबाट उत्पादित विद्युत्  केन्द्रीय प्रणालीमा जोडिएको जानकारी दिए ।   

‘मिस्ट्रीखोलाबाट उत्पादीत विद्युत् सिम्क्रोनाइज गरेर केन्द्रीय प्रणालीमा जोडियो’, उनले भने, ‘परीक्षणका लागि आयोजनाका सबै युनिट सञ्चालन गरेका छौं ।’ परीक्षण उत्पादन र सवस्टेशनमा जोड्न नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली नारच्याङ आएको छ । 

नारच्याङको बेशीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सवस्टेशन जोड्ने १३२ केभी क्षमताको ४ किलोमिटर प्रशारण लाइनको केही दिनअघि गरिएको परीक्षण सफल भएको थियो । परीक्षण उत्पादनको चरण दुई हप्ताको हुनेछ । १५ दिनसम्म प्राधिकरणलाई निःशुल्क विद्युत् दिएपछि आयोजनाबाट व्यापारिक उत्पादन शुरु गरिने आयोजना प्रमुख दिपककुमार शाहले बताए । 

यसअघि २०७७ चैत १५ देखि विद्युत् उत्पादन शुरु गर्ने तालिका बनाए पनि आयोजना स्थलमा कार्यरत कर्मचारी तथा कामदार कोरोना संक्रमित भएपछि करीब डेढ महीना पछाडी धकेलिएको हो ।  

विसं २०७३ जेठ ३१ गतेदेखि निर्माण शुरु भएको आयोजनाले निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । २ हजार २७० दशमलव ५ मिटर सुरुङबाट ल्याएको पानी २५० मिटर उचाइबाट खसालेर विद्युत् उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ ।  

बेशीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाएको विद्युतगृह नजिकै स्विचार्ड निर्माण गरेको छ । बाँध क्षेत्रमा ११५ मिटर लम्बाई, ८ दशमलव ५ मिटर चौडाई र १३ मिटर गहिराई भएको २ ओटा भूमिगत बालुवा थिग्राउने पोखरी ९क्यानल० बनाएको छ । 

रू। ५ अर्ब ६४ करोडलागत अनुमान गरिएको आयोजनाको प्रतिमेगावाट लागत रू। १३ करोड ४३ लाख रहेको छ । यो स्वदेशी लगानीमा निजी क्षेत्रले सम्पन्न गरेको अहिलेसम्मको ठूलो जलविद्युत् आयोजना पनि हो । 

प्रवर्द्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैंकले रू। ७० करोड, जलविद्युत् विकास कम्पनीले रू। एक अर्ब र नेपाल बैंकले रू। ५० करोड ऋण लगानी गरेका छन् । यसैगरी नबिल बैंकले रू। एक अर्ब, लक्ष्मी बैंकले रू। ४० करोड, सिद्धार्थ बैंकले रू। ३० करोड र एस डेभलभमेन्ट बैंकको रू। ३० करोड ऋण लगानी रहेको छ । 

आयोजना निर्माण स्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य ७ ओटा वडाका बासिन्दाहरूलाई दश लाख कित्ता शेयर बाँडफाँट गरिएको छ । 

विद्युत् विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा आयोजना ९ वर्षपछि निर्माण शुरु भएको थियो ।  

मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेकामध्ये सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा–२ मेगावाट क्षमत्ताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छ । पाँच मेगावाटको घलेम्दीखोलाले २०७६ माघ महीनादेखि उत्पादन शुरु गरेको छ ।

अन्नपूर्ण–३ दानादेखि पर्वतको खुर्कोट जोड्ने ३९ किलोमिटर दुरीको २२० केभी क्षमताको विद्युत् प्रशारण लाइन गत माघमा निर्माण सकिएको थियो । माउन्टेन इनर्जीले यसअघि नुवाकोटमा ५ मेगावाटको तादी खोलाको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । मिस्ट्री खोलाबाट विद्युत् उत्पादन भई निस्कने पानीको उपयोग हुने गरी मिस्ट्री खोला–२ क्यासकेड आयोजना पनि कम्पनीले निर्माण गर्दैछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया