नेपालीलाई खाडी मुलुकमा प्रवेशमा रोक , तीन महिनाभित्र नउडे भिसा रद्द

२ बर्ष अगाडि

नेपालमा कोरोना महामारी तीव्र रूपले बढेपछि अन्तर्राष्ट्रिय उडानमा लगाइएको रोकसँगै श्रम स्वीकृति लिएर बसेकाहरू रोकिएका छन् । नेपालको प्रमुख श्रम गन्तव्य मुलुकहरू मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानसहितका देशले तत्काल नेपालका नागरिकलाई आफ्नो देश प्रवेश गर्न रोक लगाएका छन् । 

नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण दर  उच्च बन्दै गएपछि ती देशले नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका नागरिकलाई पनि प्रवेशमा रोक लगाएका हुन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरकारको पछिल्लो निर्णयले कूटनीतिक र सरकारी राहदानी भएका बाहेक अन्य कुनै पनि भिसामा यी देशका नागरिक मलेसिया प्रवेश गर्न पाउने छैनन् । यूएईले बुधबारदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि नेपालीलाई प्रवेशमा रोक लगाएको यूएईस्थित नेपाली राजदूतावासले जनाएको छ ।


तर यता वैदेशिक रोजगार विभागले भने ती मुलुकबाट रोकिएको नभई नेपालले नै रोकेको जनाएको छ । चार्टर्ड उडानमा आउनेहरू आइरहेका विभागका महानिर्देशक कृष्णप्रसाद दवाडी बताउँछन् । ‘उता ल्यान्ड गर्न नदिएको भन्ने जानकारी हामीलाई अहिलेसम्म आएको छैन । हामीले श्रम स्वीकृति दिएपछि सामान्यतया तीन महिनाभित्र उड्ने हो ।’


यूएई सरकारले पनि बुधबारदेखि नेपालीको प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । त्यसैगरी कुवेत सरकारले पनि नेपालसहित चार देशबीच हुने व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।


कुवेतस्थित नेपाली दूतावासले कुवेतको मन्त्रिपरिषद् निर्णयलाई उद्धृत गर्दै भनेको छ–‘नेपाल, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबीच हुने कार्गो उडानबाहेक सबै व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया