सरकारी कार्यालयमै बिल पाउन मुस्किल, नेपाल टेलिकमको प्रिन्टरले बिल प्रिन्ट गर्दैन

२ बर्ष अगाडि

काठमाडौं– कुनै पनि सेवाको शुल्क तिरेपछि ग्राहकले बिल पाउनुपर्ने कानूनी व्यवस्था छ तर, सरकारी कार्यालयमै बिल पाउन मुस्किल हुन थालेको छ ।

कोभिड–१९ बाट बच्न जारी निषेधाज्ञाका बेला अत्यावश्यक सेवामा पर्ने दूर सञ्चार प्रदायक नेपाल टेलिकमको इन्द्रायणी शाखामा प्रिन्टरले बिल प्रिन्ट गर्दैन । राजधानीको उत्तरपूर्वी भेगमा रहेको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ को यो शाखामा टेलिफोन, एडिएसएलको पैसा तिर्न आउने ग्राहकले प्रिन्टर बिग्रिएकै कारण बिल पाउन नसकेका हुन् । यो समस्या आएको वर्षौ हुँदासमेत समाधान हुन सकेको छैन ।
 शङ्खरापुर नगरपालिका वडा नं ९ खुलालटारका बलराम थापा गत वर्ष पनि बन्दाबन्दीका बेला टेलिफोन र एडिएसएलको पैसा तिर्न आउँदा प्रिन्टर बिग्रिएर बिल नपाएको स्मरण गरे । त्यही प्रिन्टर बिग्रिएका कारण थापाले आइतबार पनि टेलिफोन र एडिएसएलको पैसा तिरेको बिल उाएनन्। टेलिकमको इन्द्रायणी कार्यालयमा धेरैजसो समय पैसा तिर्न आउँदा बिल पाउन नसकिएको उनि सुनाउछन्। काउन्टरमा कार्यरत सुनिता बाँस्कोटा पोखरेल बिल प्रिन्ट गर्न खोज्दा भित्रै जाम भएको बताएन् । यस्तो पहिलोपटक भएको उनको दावी छ ।

 नजिक पर्ने कार्यालय भएकाले गोकर्णेश्वर नगरपालिका वडा नं २ बाट पोष्टपेड मोबाइल फोनको शुल्क तिर्न गएका विश्वनाथ बास्कोटाले पनि प्रिन्टर बिग्रिएकै कारण बिल पाउन सकेनन् । बिल लिनकै लागि करिब एक घण्टा कुरे पनि प्रिन्ट हुने छाँटकाँट नदेखेपछि कार्यालयबाट हिँडेको उनले बताए । कर्मचारीले बिल लिनकै लागि अर्को दिन बोलाएको पनि बाँस्कोटाले सुनाए ।
 कार्यालयका सहायक लेखा अधिकृत भक्तबहादुर विष्ट टेलिकमको क्षेत्रीय निर्देशनालय सुन्धाराबाट आएको प्रिन्टर, कम्प्युटरलगायत उपकरणले राम्रोसँग काम नगर्दा सेवा प्रवाहमा अप्ठ्यारो भएको स्वीकारे । “गुणस्तरहीन सामान आएकाले काममा असहज भएको हाम्रो अनुभव छ” – उनले भने। 

 टेलिफोन र इन्टरनेटको तार जोड्न प्रयोग हुने ‘यु आई कनेक्टर’ कम गुणस्तरको आउँदा टेलिकमको सेवाले अन्य निजी कम्पनीसँग प्रतिष्पर्धा गर्न नसकेको कर्मचारीकै स्वीकारोक्ति छ । काठमाडौँ उपत्यकामा रहेका टेलिकमका शाखामा आवश्यक धेरैजसो यन्त्र प्रादेशिक निर्देशनालय सुन्धाराले उपलब्ध गराउने गर्छ । 

टेलिकमका प्रवक्ता राजेश जोशी साना कार्यालयमा कम यन्त्र हुने भएकाले बिग्रिएका बेला ग्राहकले बिल पाउन नसकेको बताए । यन्त्र छिटो मर्मत गरेर सेवा दिने प्रतिबद्धता उनले गरे।

२ बर्ष अगाडि

प्रतिक्रिया