कोरोनाबाट उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मृत्यु

२ बर्ष अगाडि

सप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै मृत्यु भएको कञ्चनरुप नगरपालिका निवासी उत्तम आचार्यले जानकारी दिए ।

दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो । त्यसपछि एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए । गर्भवतीसमेत रहेकी उनलाई १० दिनअघि अस्पताल भर्ना गरी आइसीयूमा राखिएको थियो । तीन दिनअघि मात्रै उनको पेटमा भएको बच्चा पनि मृतावस्थामा निकालिएको थियो । बच्चाका कारण पनि उनलाई थप असहज भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो । मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन् । यससहित सप्तकोशीमा कोरोनाका कारण मर्नेको सङ्ख्या तीन पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ  ।

अर्जुनधारा नपाका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको निधन
 
कोरोना सङ्क्रमणका कारण झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको सोमबार निधन भएको छ । नपाका लागि भारतीय दूतावासबाट प्राप्त भएको एम्बुलेन्स लिन काठमाडौँ पुगेर फर्किएपछि उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पचास वर्षीय खाम्याहाङ उपसचिवस्तरका कर्मचारी थिए ।

गत वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि केही दिन आफ्नै क्वार्टरमा र त्यसपछि दुई दिन नगरपालिकाले स्थापना गरेको आइसोलेशनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बिएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा सोमबार निधन भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया