इजरायल र प्यालेष्टाइनबीचको युद्धविराम गर्न आग्रह– जो बाइडेन

२ बर्ष अगाडि

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेष्टाइनबीच गाजामा जारी हिंसा अन्यको माग गरेका छन् ।

बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन कुराकानी गर्दै युद्धविरामको आग्रह गरेका हुन् । 

तर, हिंसा अन्त्यको माग गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पेश भएको संकल्प प्रस्तावलाई भने अमेरिकाले फेरि रोकेको छ । अमेरिकाले हमासलाई आतंकवादी संगठन बताउँदै आएको छ र हमासविरुद्धको कारबाहीलाई भने जायज रुपमै लिन्छ । 

ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ,‘बाइडेनले निर्दोष सर्वसाधारणको सुरक्षाका लागि हरेक प्रयास गर्न इजरायललाई प्रेरित गर्नु भएको छ । दुई नेताहरुले हमास र अन्य आतंककारी समूहबीचको अपरेशनमा भइरहेको प्रगतिबारे छलफल गर्नुभएको छ ।’

बाइडेन युद्धबिरामको समर्थनमा रहेको  इजिप्ट तथा अन्य साझेदारहरुसँग यस विषयमा वार्ता चलिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । 

अहिले इजरायल प्यालेस्टाइन विवाद दोस्रो सातामा चलिरहेको छ र हिंसा रोकिने थोरैमात्र संकेत देखिएको छ । यस हिंसामा प्यालेस्टाइनतर्फ कम्तिमा २ सय २१ मानिसको मृत्यु भइसकेको छ । जसमा ६१ बालबालिका समावेश छन्  । इजरायलतर्फ पनि दुई बालबालिकासहित १० जनाको मृत्यु भएको छ । 

यस्तो भयावह अवस्थाका बाबजुद इजरायली सेनाले प्यालेस्टाइनतर्फ मारिएका अधिकांश व्यक्ति मिलिसिया रहेको दाबी गरेको छ । सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमण जारी रहने घोषणा गरेका थिए । गाजामा शासन गरिरहेको हमासले पनि प्रत्याक्रमणका लागि आफु तयार रहेको जनाएको छ  ।

२ बर्ष अगाडि

प्रतिक्रिया