आज देखि औषधि पसल र अस्पतालबाहेक सबै बन्द !

२ बर्ष अगाडि

काभ्रेपलाञ्चोक जिल्लाको अन्य स्थानीय तहभन्दा कोरोना संक्रमण उच्च संख्यामा रहेको बनेपा नगरपालिकामा मंगलवार रातिदेखि ‘सिल’ गरिने भएको छ । 

स्थानीय जनप्रतिनिधिलगायत कोभिड–महामारी व्यवस्थापनमा सरोकारवालासँगको सोमवारको बैठकले मंगलवार राति १२ बजेदेखि नगर सिल गर्ने निर्णय गरेको हो ।

कारोना संक्रमणको दोस्रो लहर तीव्ररूपमा बढेपछि सम्पूर्ण नगर क्षेत्र हाललाई एक हप्ताका लागि सिल गर्नु परेको नगरप्रमुख लक्ष्मीनरसिंह वादेले बताए । उनका अनुसार मंगलवार राति १२ बजेदेखि जेठ १२ गते राति १२ बजेसम्म नगर क्षेत्र सिल गर्ने निर्णय गरिएको हो । 

‘औषधि पसल र अस्पतालबाहेकका अन्य खाद्यान्न, तरकारी र दुग्धजन्य पसल तथा फलफूल, बैंक, वित्तीय संस्थाका सेवा बन्द गर्नुका साथै मर्निङवाकमा समेत प्रतिबन्ध लगाइएको छ’, वादेले भने ।

नगरद्वारा जारी अपिलमा फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउनेसमेत उल्लेख गरिएको छ ।

साथै सूचना विभागबाट जारी प्रेस पासवाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइनेछ । जिल्ला प्रशासन कार्यालयले पनि आइतवारदेखि एक साता जिल्लामा निषेधाज्ञा थप गरेको थियो ।

कारोना संक्रमणको दोस्रो लहर नगरमा हाल जिल्लामा रहेका कुल कोरोना संक्रमितमध्ये बनेपामा ३५ दशमलव ४ प्रतिशत अर्थात् ६९७ मा संक्रमण भएको छ । नगरमा हालसम्म १० को मृत्यु भएको छ । पछिल्ला केही दिनदेखि काभ्रेपलाञ्चोकमा दैनिक डेढ सयभन्दा बढीको संख्यामा संक्रमित थपिन थालेका छन् । 

जिल्लामा पछिल्लो २४ घण्टामा १७८, अघिल्लो दिन १९८ तथा शुक्रवार १५१ मा कोरोना संक्रमण पुष्टि भयो । दैनिक ३० को हाराहारीमा कोरोना संक्रमणमुक्त हुने गरेका छन् भने सरदर दैनिक दुईको मृत्यु हने गरेको तथ्यांकले देखाएको छ ।

जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी) का अनुसार हाल कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा एक हजार ९८९ सक्रिय संक्रमित रहेका छन् ।

संक्रमितमध्ये धुलिखेलमा ४१४, पनौतीमा ३९९, पाँचखालमा १२४, नमोबुद्धमा ८१, मण्डनदेउपुरमा ११० तथा रोशी गाउँपालिकामा ३५, चौँरीदेउरालीमा २६, तेमालमा ३०, भुम्लुमा ३०, खानीखोलामा २२, बेथानचोकमा १४ र महाभारत गाउँपालिकामा १६ सक्रिय संक्रमित रहेका छन् । 

कुल संक्रमितमध्ये ९४ प्रतिशत अर्थात् एक हजार ८९१ संक्रमित होम आइसोलेशनमै उपचाररत छन् । हालसम्म जिल्लाका ८५ कोरोना संक्रमितको मृत्यु भएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया