आन्तरिक उडान असार १ बाट सञ्चालन गर्न माग, हवाई इन्धनको मूल्य कटौतीको स्वागत

२ बर्ष अगाडि

काठमाडौं - वायुसेवा सञ्चालक संघले आउँदो असार १ गतेदेखि आन्तरिक उडान सञ्चालनका लागि माग गरेको छ । 

विगत ३५ दिनदेखि आन्तरिक उडानमा रोक लगाउँदा लाखौं कर्मचारीको रोजगारी गुम्ने र रोजीरोटीको समस्या हुने भन्दै संघले मंगलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री उमाशंकर अरगरिया समक्ष उक्त माग गरेको हो ।

स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरूपमा पालना गरी उडान सञ्चालन गर्न सेवाप्रदायक कम्पनीहरू प्रतिबद्ध रहेको भन्दै संघले लामो समयदेखि बन्द रहेको उडान सञ्चालनमा सहजीकरण गरिदिन मन्त्रालयसँग माग गरेको छ । 

कोरोना दोस्रो लहरको केही समयसम्म पनि उडानलाई निरन्तर दिइएको र त्यसबेला यात्रुहरू संक्रमणरहित रहेको संघको दाबी छ ।
कोभिडविरुद्ध तालीमप्राप्त जनशक्ति तथा हरेक उडानपूर्व जहाजको संक्रमणरहित सरसफाइ, मास्क तथा फेसशिल्डको अनिवार्य प्रयोगले उडान सुरक्षित भएको संघको भनाइ छ । 

सरकारले वैशाख २० गतेदेखि नै आन्तरिक उडानमा रोक लगाएको छ । ३५ दिनदेखि आन्तरिक उडान ठप्प रहँदा यो क्षेत्रको आम्दानी घटिरहेको र कैयौं कर्मचारीको रोजगारी गुम्ने जोखिम रहेको संघको भनाइ छ ।

यसैगरी संघले अन्तरराष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्यमा कटौतीको स्वागत गरेको छ । आन्तरिकतर्फको पनि न्यून मुनाफा राखेर मूल्य घटाउन संघले अनुरोध गरेको छ । इन्धनमा मूल्य घटाउँदा सञ्चालन खर्च घट्ने र सर्वसाधारणले सुलभ दरमा हवाईयात्रा गर्न पाउने उल्लेख छ । 

यस्तै हालको निषेधाज्ञा अवधिभर ल्याण्डिङ पार्किङ तथा अन्य शुल्कहरूमा ७५ प्रतिशत छूटका लागि पनि संघले सरकारसँग अनुरोध गरेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया