५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण

२ बर्ष अगाडि

कृषि व्यवसायमा यान्त्रिकीकरणको माध्यमबाट न्यून लागतमा उत्पादन वृद्धिको योजनासहित कास्कीको मादी गाउँपालिकाले व्यावसायिक किसानलाई हातेट्र्याक्टर वितरण गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको कृषितर्फको स्वीकृत कार्यक्रमअन्तर्गत पहिलो चरणमा मङ्गलबार कृषकसँगको ५० प्रतिशत लागत साझेदारीमा अनुदानमा २४ वटा हातेट्र्याक्टर वितरण गरेको हो । गाउँपालिकाको १ देखि १२ वडाका कृषक, कृषक समूह तथा कृषि व्यवसायमा संलग्न सङ्घ संस्थाबाट प्रस्ताव आह्वान गरिएकामा ६१ जनाले माग गरेका थिए । पहिलो चरणमा ‘सात हर्सपावर’का २४ वटा ट्र्याक्टर कृषकलाई उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए । प्रति ट्र्याक्टर रु ५४ हजार मूल्यमा कृषकहरूले ५० प्रतिशत साझेदारी गरेका छन् ।

अध्यक्ष गुरुङका अनुसार कृषकको व्यावसायिक योजनाको मूल्याङ्कनका आधारमा थप १७ कृषकलाई दोस्रो चरणमा ट्र्याक्टर वितरणको योजना छ । जमीन खनजोतका लागि गोरु पाल्न कृषकले झन्झट मान्ने र लागत बढी हुँदा पछिल्लो समय कृषकहरू हातेट्र्याक्टरतर्फ आकर्षित छन् ।

गाउँपालिकाले कृषिको विकासलाई प्राथमिकतामा राखेको बताउँदै अध्यक्ष गुरुङले भने, “कृषि व्यवसायलाई समयानुकूल परिर्वतन गर्दै यान्त्रिकीकरण र आधुनिकीकरणका माध्यमबाट अधिकतम उत्पादन बढाउँदै रोजगारी सिर्जना र स्वरोजगार अभिवृद्धिको योजना छ । समृृद्ध मादी निर्माणका लागि कृषि, पर्यटन, जलस्रोत, वन, पूर्वाधारसहित समन्यायिक समृद्धिलाई जोड दिएका छौँ ।”

कृषि क्षेत्रको आधुनिकीकरण यान्त्रिकीकरण, विशिष्टीकरण, व्यावसायीकरण र बजारीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिने नीति गाउँपालिकाले लिएको बताइन्छ । हाते ट्र्याक्टरसहित थ्रेसर, असिना छेक्ने जाली, प्लाष्टिक टनेललगायतका कृषि औजार उपकरणमा अनुदान दिने कार्यक्रम कृषितर्फ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

उनले भने, “असिना छेक्ने जाली कृषकलाई उपलब्ध गराइसकेका छौँ भने प्लाष्टिक टनेल प्रदान गर्न बोलपत्र आह्वानलगायतका प्रक्रिया अघि बढाएका छौँ, छिट्टै मागका आधारमा कृषकलाई उपलब्ध गराउने छौँ ।” 

२ बर्ष अगाडि

प्रतिक्रिया