खाडी मुलुक जाने जहाज भाडा तीन सय प्रतिशत महँगो, करिब ५० हजार युवा उडानको प्रतिक्षामा

२ बर्ष अगाडि

काठमाडौं - सरकारले अनुमति दिएका एयरलाईन्सहरुको टिकटको मुल्यमा तीनसय प्रतिशतसम्म वृद्धि गरिएको छ । 

नेपालबाट कतार जाने कामदारले सामान्य अवस्थामा टिकटका लागि २० हजार र बढीमा २५ हजार रुपैयाँ खर्च गर्ने गरेकोमा हाल एकतर्फी टिकटको मुल्य ७५ हजार रुपैयाँसम्म पुर्‍याइएको छ ।  

नेपालमा कोरोना भाइरस संक्रमण केही कम भएपछि  सरकारले गत जुन ७ तारखेबाट कतार, टर्की र चीन गरी तीन देशका लागि उडान शुरु गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि रोजगारीमा जोडिन जाने र करार अवधि सकिएर घर फर्किने वाध्यताका कामदारहरुले केही राहत महसुस गरेका थिए । 

तर महिनौंको तलव खर्च गरेपनि जहाज टिकट लिन नसक्ने अवस्थामा पुगेका छन् । हाल कतार एअरवेज र नेपाल एअरलाइन्सले कतारको दोहामा हप्तामा एक एक वटा उडान भरिरहेका छन् । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठ खाडीका विभिन्न मुलुकमा रोजगारीमा जान भिसा लिएका करिब  पचास हजार हाराहारीमा युवाहरु उडानको प्रतिक्षामा रहेको र उडान अपर्याप्त र महंगो भाडाले गम्भीर समस्या सिर्जना गरेको बताउँछन् । 

हाल कतारमा मात्र उडान रहेको छ । साउदी अरब र युएई जानुपर्ने कामदार कतार हुँदै जानु पर्ने भएका कारण उनीहरुलाई थप आर्थिक भार रहेको व्यवसायीहरु बताउँछन् । 

भएका उडान कुटनीतिकदेखि व्यापारिक भ्रमणका लागि जाने उच्चस्तरीय यात्रुले ओगट्दा न्यून आय भएका र भिफ्र भिसा फ्रि टिकटमा जानु पर्ने कामदारले मौका पाउन नसक्ने अवस्था उत्पन्न भएको संघका महासचिव श्रेष्ठको भनाइ छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया