देउवा १४ औं महाधिवेशनबाट फेरि सभापतिमा दोहोरिने

२ बर्ष अगाडि

 नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट फेरि सभापतिमा दोहोरिने बताएका छन् । महाधिवेशनमा देउवाको उम्मेदवारी अपेक्षित नै भए पनि उनले यसअघि मुख खोलेका थिएनन् ।

प्रदेश १ का आफू पक्षीय केन्द्रीय सदस्यसँगको आन्तरिक छलफलमा शनिबार देउवाले आफूलाई सहयोगको प्रस्ताव राखेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।
देउवाको भनाइ उद्धृत गर्दै उनले भने, ‘१४ औं महाधिवेशनमा म आफूलाई फेरि सभापतिको उम्मेदवार बनाउँदैछु । म फेरि सभापतिमा उठ्नुपर्ने परिस्थिति बन्यो ।’  

पार्टीलाई फेरि सशक्त बनाएर संविधान र लोकतन्त्र गरी १५ औं महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्ने देउवाको भनाइ थियो । पार्टीको विधानले पनि दुई कार्यकाल सभापति हुन पाउने व्यवस्था गरेको देउवाले स्मरण गराएका थिए ।

‘मुलुकको संकटकालीन अवस्थामा मैले पार्टीको नेतृत्व छोड्दा म असफल भएर बीचमै छाडेको देखिन्छ’ देउवाको भनाइ उद्धृत गर्दै  विश्वकर्माले भने, ‘पार्टीलाई फेरि सशक्त बनाएर संविधान र लोकतन्त्रलाई संस्थागत गरी अर्कोपटक नेतृत्व हस्तान्तरण गर्दा उपयुक्त हन्छ भन्ने मैले महसुस गरेँ ।’

विहीबार शुक्रबार दुई दिन बसेको केन्द्रीय कार्यसमिति बैठकबाट भदौ १६–१९ महाधिवेशनको कार्यतालिका पारित भएपछि देउवा आन्तरिक छलफलमा जुटेका हुन् । देउवाले १३ औं महाधिवेशनपछि काँग्रेसमा आएका विजयकुमार गच्छदार र सुनील थापा समूहको समस्याबारे पनि चासो राखेको विश्वकर्माले बताए । केन्द्रीय सदस्यहरुसँग देउवाले जिल्ला–जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएका थिए ।

‘अब अधिवेशन गर्नुको विकल्प छैन । संविधानतः हामीले महाधिवेशन गर्नैपर्छ । कठिनाइका बाबजुद पनि महाधिवेशन गर्नैपर्छ, यसको तयारीमा लाग्नुहोस्,’ देउवाको भनाइ थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया