निषेधाज्ञा खुकुलो : भाडा, मोबाइल, सुनचाँदी, डिपार्टमेन्ट स्टोर र फेन्सी पसल खुल्ने, कुन-कुन बार कत्ति बजे सम्म ?

२ बर्ष अगाडि

काठमाडौं - कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन जिल्लामा १६ वैशाखबाट जारी निषेधाज्ञा पुनः एक साता थप गरिएको छ । 

काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै १४ असारसम्म थप गर्ने निर्णय गर्दै के–के खुल्ने के नखुल्ने भन्नेबारे निर्णय गरेको छ ।

आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, मोबाइल पसल बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न दिइने भएको छ । त्यसैगरी सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर,फेन्सीका पसलहरु खुल्नेछन् ।

यी पनि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्नेछन् । खाद्यन्न पसल भने हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने छ ।

निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ । थपिएको निषेधाज्ञा अवधिमा थप केही क्षेत्र खुकुलो तुल्याइएको छ ।

अहिलेको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म कायमै छ । त्यस्तै ट्याक्सीमा भने तीन जना मात्रै यात्रु राख्न पाइनेछ  भने अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङपुल, सैलुन, ब्युटीपार्लर, जिमखाना, पुस्तकालय, चिडियाखाना, रंगशाला र मानिसका भिडभाड हुने सबै प्रकारका कार्यक्रममा भने रोक लगाइने पहिलेको निर्णय कायम गरिएको छ ।

खुला स्थानमा मानिसहरू भेला हुन्, सभा, जुलुस, जात्रा, महोत्सवमा लगाइएको निषेध कायम गरिएको छ । फुटपाथमा हुने व्यवसाय पनि सञ्चालन गर्न पाइनेछैन । पुजारीबाट मठमन्दिरमा हुने नित्य पूजाबाहेक अन्य धार्मिक गतिविधिहरूमाथिको रोक कायम राखिएको छ ।

विवाह व्रतबन्ध घरबाट मात्रै गर्न पाइनेछ । यसरी घरबाट हुने विवाह व्रतबन्धमा पनि १० जनाभन्दा जम्मा हुन पाइनेछैन । 

२ बर्ष अगाडि

प्रतिक्रिया