१० महिनामा उठ्यो ७ खर्ब ६१ अर्ब राजश्व, गत वर्षको तुलनामा २५.४ प्रतिशत वृद्धि

२ बर्ष अगाडि

काठमाडौं - कोरोनाको नियन्त्रणका लागि देशव्यापी रुपमा निषेधाज्ञा जारी गरिएको भए पनि वैशाखसम्म कूल रु सात खर्ब ६१ अर्ब बराबरको राजश्व उठेको छ । 

अर्थ मन्त्रालयका अनुसार कूल राजश्व परिचालन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.४ प्रतिशलते वृद्धि भएको हो । कूल राजश्वमा कर राजश्व रु सात खर्ब नौ अर्ब ६२ करोड रहेको छ । 

यस्तै, गैरकर राजश्व रु ५१ अर्ब ३८ करोड रहेको छ । सो अवधिमा अन्य प्राप्तिसहित कूल राजश्व र प्राप्ति रु सात खर्ब ९७ अर्ब ३३ करोड रहेको छ ।

गत वैशाख मसान्तसम्ममा गत आवको सोही अवधिको तुलनामा सम्पूर्ण शीर्षकका कर राजश्वमा वृद्धि भएको छ भने गैर कर राजश्व सङ्कलनमा कमी आएको छ । 

कोभिड १९ को महामारीको समयमा समेत वस्तुको पैठारी निरन्तर भइरहेकाले भन्सार विन्दुमा सङ्कलन हुने कर राजश्वमा वृद्धि भएको हो ।

शीर्षकगत लक्ष्यमा आन्तरिक तर्फको मूल्य अभिवृद्धिकर, भन्सार महसुल र अन्य कर शीर्षकको राजश्व लक्ष्यभन्दा बढी सङकलन भएको मन्त्रालयले जनाएको छ । 

समग्मा राजश्व सङ्कलन ९४.६ प्रतिशत रहेको छ । यस अवधिमा भन्सार विन्दुमा सङ्कलन भएको कर राजश्व ३८.३ प्रतिशतले बढेर रु तीन खर्ब ४८ अर्ब ३० करोड पुगेको छ । 

यस्तै, आन्तरिकतर्फको कर राजश्व २०.५ प्रतिशतले बढेर रु तीन खर्ब ६१ अर्ब ३२ करोड पुगेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया