युरोकप: नेदरल्यान्ड्स–अस्ट्रिया र बेल्जियम–डेनमार्कको जित

२ बर्ष अगाडि


जारी युरो कप २०२० अन्तर्गत  समूह ‘सी’को खेलमा नेदरल्यान्ड्सले सानदार जित हासील गरेको छ । गए राती  भएको खेलमा नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियालाई ३–० गोलले पराजित गरेको हो ।

 समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सले जित निकाल्दै समूह चरणमा शत प्रतिशत जित निकाल्न सफल भएको हो। नेदरल्यान्ड्सका लागि पहिलो हाफको २४औं मिनेटमा मेमफिस डिपाएले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। 

 दोस्रो हाफको ५१औं र ५८औं मिनेटमा नेदरल्यान्ड्सका कप्तान जिनी वाइनाल्डमले दुई गोल गर्दा नेदरल्यान्ड्सले खेलमा ३–० को जित निकालेको हो।

यता नर्थ म्यासेडोनिया युरो कप २०२० बाट बाहिरिएको छ। नेदरल्यान्ड्स भने समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ।

 युक्रेनलाई १–० गोलले पराजित 

यस्तै युरोकप अन्तर्गत गए राती नै भएको समूह ‘सी’को दोस्रो खेलमा अस्ट्रियाले युक्रेनलाई १–० गोलले पराजित गरेको छ।

पहिलो हाफको २१औं मिनेटमा अस्ट्रियाले अग्रता लिएके थियो। कप्तान डाविड अलाबाको पासमा क्रिस्टोफ बाउमगार्टनरले गोल गर्दै अस्ट्रियालाई खेलमा अग्रता दिलाएका थिए।

जितसँगै अष्ट्रियाको टोलीले समूह ‘सी’को उप–विजेता बन्दै अन्तिम १६को यात्रा सुनिश्चित गरेको छ। उता युक्रेन भने तेस्रो स्थानमा रहँदै अन्य टोलीको प्रदर्शनको पर्खाइमा रहेको छ।

फिनल्यान्ड २–० गोल अन्तरले पराजित

यस्तै गए रातिनै  सम्पन्न समूह ‘बी’को खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ।

७४औं मिनेटमा  फिनल्यान्डका गोलरक्षक लुकास हराडेकीले आत्मघाती गोल गरे भने खेलको ८१औं मिनेटमा बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले दोस्रो गोल गरे।

यस जितसँगै बेल्जियम समूह सीको विजेता बन्दै अन्तिम १६ को यात्रा पक्का गरेको छ। उता फिनल्यान्ड भने तेस्रो स्थानमा रहेको छ।

गए राति सम्पन्न समूह ‘बी’को दोस्रो खेलमा डेनमार्कले रसियालाई ४(१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

डेनमार्कको राजधानी कोपनहेगनमा भएको समूह चरणको अन्तिम खेलमा घरेलु टोलीले शानदार जित निकाल्दै अन्तिम समयमा अन्तिम १६ को यात्रा सुनिश्चित गरेको हो। रसियाविरुद्धको खेल अघि समूह चरणको अन्तिम स्थानमा रहेको डेनमार्कलाई जित अपरिहार्य रहेको थियो।

रसियालाई ४–१ गोलको फराकिलो अन्तरले पराजित

  समूह ‘बी’को दोस्रो खेलमा डेनमार्कले रसियालाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

डेनमार्कका लागी पहिलो हाफको ३८औं मिनेटमा मिकेल डाम्सगार्डले गोल गरे । खेलको ५९औं मिनेटमा डेनमार्कका स्ट्राइकर युसुफ पोल्सेनले डेनमार्कको अग्रता दोब्बर बनाए।

खेलको ७०औं मिनेटमा कप्तान आर्टेम जाइउबाले पेनाल्टी मार्फत गोल गर्दा रसियाले खेलमा १ गोल फर्कायो। तर खेलको ७९औं र ८२औं मिनेटमा क्रमशः आन्द्रेस क्रिसटेन्सन र जोकिम माएलेले गोल गर्दा डेनमार्कले खेलमा ४–१ गोलको फराकिलो जित दर्ता गरेको हो।

 जितसँगै डेनमार्क समूह ‘बी’को उप–विजेता टोली बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ भने रसिया समूह ‘बी’को पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

 

२ बर्ष अगाडि

प्रतिक्रिया