नहर मर्मत र सरसफाइका लागी  १ अर्ब ६० करोड , ६० प्रतिशत कार्य सम्पन्न

२ बर्ष अगाडि

पश्चिम नवलपरासीका खेतीयोग्य जमिन नियमित सिँचाइका लागि नहरमा भरपुर पानी दिन नेपाल सरकारले नेपाली नहरको वृहत मर्मत सम्भार गरिरहेको छ । प्रत्येक ५० बर्षभित्र नहरको पुनर्संरचना गर्ने कार्य अन्तर्गत सरकारले ६० करोड रुपैयाँको बजेटमा नेपाल गण्डक पश्चिम नहर सिँचाई प्रणालीलाई व्यवस्थित गर्दै नहरको वृहत सरसफाई तथा मर्मत सम्भार कार्य गरिरहेको छ । जस अन्तर्गत नहरको सरसफाई लगायतका अधिकांश कार्य सम्पन्न भैसकेको छ ।

विगत लामो समयदेखि नहरको वृहत सफाई नभएको र नहरका गेट, साईफन, कुलो लगायतका संरचनाहरु जिर्ण भएर भत्किएकाले नहरमा आवश्यक मात्रामा पानी नआउने कारणले खेतको सिँचाइबाट किसानहरू बन्चित हुने गर्दथे । तर यस बर्षदेखि नहरमा वृहत सरसफाई र मर्मत सम्भारको कार्यले नहरमा भरपुर पानी आएपछि किसानहरू हर्षित भएका हुन् । नहरमा भरपुर पानी आएपछि किसानहरुलाई सहजै धानको रोपाई र सिँचाई गर्न निकै सहज भएको नेपाल गण्डक पश्चिम नहर सिँचाई प्रणाली जल उपभोक्ता समिति नवलपरासीका अध्यक्ष हैदर अलि मोमिनले जानकारी दिए ।  


नेपाल भारत गण्डक सम्झौता अनुसार भारत सरकारले जिल्लाको साविक २२ गाउँ विकास समितिका खेती क्षेत्रलाई सिँचाई हुने गरि वि।सं। २०३६ सालमा नहर सिँचाई प्रणाली बनाई नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । वि।सं २०२४ सालबाट नहरको संरचना बनाउने कार्य शुरु भई वि।स। २०३५ सालमा सम्पन्न गरि १ बर्ष भारत सरकारले नै आफै संचालन गरि नेपाल सरकारलाई हस्तान्तरण गरेकोे थियो ।


नहर मर्मत र सरसफाइको अभावमा जीर्ण भएकाले ४३ वर्षपछि नेपाल सरकारले मुल नहर, शाखा नहर र माईनरको सरसफाई र मर्मत सम्भारका लागि १ अर्ब ६० करोड रुपैयाँको डिपिआर स्वीकृत गरि कार्य अगाडी बढाएको छ जस अन्तर्गत हाल ६० करोड रुपैया बराबरको ४ वटा ठेक्का लगाई नहरको वृहत सरसफाई तथा मर्मत कार्यहरु भैरहेको नेपाल गण्डक पश्चिम नहर सिँचाई व्यवस्थापन कार्यालय नवलपरासीका प्रमुख रन्धीर कुमार शाहले जानकारी दिए । कार्यालय प्रमुख शाहका अनुसार अहिलेसम्म कुल कामको ६० प्रतिशत कार्य सम्पन्न भएको र ४० प्रतिशत कार्य अझै हुन बाकी रहेको जानकारी दिए ।

६० प्रतिशत कार्यमा त्रिवेणी देखि सनईसम्म ३२ किलोमिटरको मुल नहर सरसफाई गरिएको छ भने शाखा नहर तथा माईनरहरु १८ किलोमिटर सरसफाई गरिएको छ । त्यस्तै विभिन्न नहरमा ८ किलोमिटर पक्की लानिङको कार्य गरिएको छ । यता मुल तथा विभिन्न शाखा नहर र माईनरहरुमा गरि ३० वटा नयाँ गेट लगाइएको र कृषि बाटोका लागि नहरमा १० वटा पक्की पुल समेत बनाइएको प्रमुख शाहले जानकारी दिए । नहरमा देखिँदै आएको सिल्टेशन समस्या समाधानका लागि नहरमा मुल धोकामै पोखरी खनेर सिल्टे झिक्ने र मुल धोकाको एउटा गेट पनि मर्मत गर्ने जस्ता मर्मतका थुप्रै कार्यहरु गर्न बाकी रहेको उनले बताए ।

यस नहरले बर्दघाट, रामग्राम गरि २ नगरपालिका र सुस्ता, प्रतापपुर, सरावल, पाल्हीनन्दन गरि ४ गाउँपालिकाको कुल १० हजार ३ सय हेक्टर क्षेत्रफलमा सिँचाई हुदै आएको छ । यस गण्डक कमाण्ड क्षेत्रमा पुर्वदेखि पश्चिमसम्म ३२ किलोमिटर लामो १ वटा मुल नहर, ३ वटा शाखा नहर, ६ वटा माईनर नहर, २६ वटा एमसी, ६ वटा एस एफ डि र १६२ वटा एमएसडी रहेको छ ।

 यस बाहेक खेतमा सजिलै पानी पुग्ने गरि सयौंको संख्यामा नाला कुलोहरु पनि छन तर किसानहरू आफै कुलोहरु मिची खेत बनाई सकेका छन् । नहरमा धान र गहुँ सिंचाईका समयमा पानी छोडिन गरिन्छ । यो बर्ष नहरको सरफाइ र मर्मतले समयमै नहरमा पानी आएको छ जसले गर्दा धान रोपाई र सिँचाइमा निकै सहज भएको कृषकहरुले बताएका छन् ।

यता कार्यालयले, विभिन्न पालिका तथा स्थानिय जनताहरुलाई गाउँघरको ढल नहरमा नमिसाउन र फोहर नफाल्न आग्रह गरेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया