काठमाडौं महानगरपालिकाले मेलम्चीलाई २ करोड ५० लाख सहयोग गर्ने

२ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ५० लाख रुपैयाँ सहयोग गरेको हो । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सोमबार सिन्धुपाल्चोक पुगेर सो सहयोग हस्तान्तरण गरेका हुन् । 

सहयोग हस्तान्तरण गर्दै प्रमुख शाक्यले विपतको बेलामा आफुहरुले थोरै भएपनि सहयोग गरेको बताए ।  धेरै क्षति भएको भएपनि माया र आत्मियताको कुनै मुल्य नहुने भन्दै उनले सिन्धुपाल्चोकको विपत्तिमा काठमाडौं महानगरपालिकाको साथ रहेको र आगामी दिनमा पनि साथमै रहने बताए । 

सहयोग रकम हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री तामाङले विपत ग्रस्त पालिकाहरुले विपत व्यवस्थापनका लागि छुट्टै कोष खडा गर्न अनुरोध गरे । 

मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले समयमै नगरबासीलाई सचेत हुन सुचना प्रवाह गरेका कारण मानविय क्षति कम भएको उल्लेख गरे । 
सिन्धुपाल्चोकमा असार १ गतेको बाढीले निकै क्षति पु¥याएको छ । विभिन्न ठाउँबाट राहत संकलन समेत भइरहेको छ ।

यस्तै बागमती प्रदेश सरकारले प्राकृतिक विपदमा परेको प्रदेशका विभिन्न जिल्लामा तत्काल पाँच करोड रुपैयाँ उपलब्ध गराउने भएको छ। 

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले प्रदेश विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। विपदजन्य घटना रोकथाम, न्यूनीकरण र पीडितको उद्वारका लागि उक्त रकम उपलब्ध गराउने भएको हो।

बैठकले बाढी–पहिरोले ठूलो क्षति पु¥याएको सिन्धुपाल्चोकलाई एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट मातहतका जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयलाई बजेट उपलब्ध गराउने निर्णय गरेको छ। 

सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा आकस्मिक विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्न सिन्धुपाल्चोक, चितवन र रसुवालाई ५०÷५० लाख रुपैयाँ दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले जानकारी दिए। 

२ बर्ष अगाडि

प्रतिक्रिया