राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब ५ करोड लगानी गर्दै, बोलकबोल पेश गर्ने भोलि अन्तिम दिन

२ बर्ष अगाडि

काठमाडौं, नेपाल राष्ट्र बैंकले कर्मचारी उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ५ करोड रुपैयाँ वाणिज्य बैंक,विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा ३६६ दिन अवधिको लागि लगानी गर्ने भएको छ। बैंकले उक्त रकम २०७८ असार २१ गतेदेखि २०७९ असार २१ गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको हो।

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ८४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा १५ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ५ करोड २५ लाख रुपैयाँ गरी कूल १ अर्ब ५ करोड रुपैयाँ लगानी गर्न लागेको हो।

राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी असार ९ गतेसम्ममा बोलकबोल पेश गनुपर्नेछ। यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम हुनुपर्नेछ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया