अप्पर तामाकोसीबाट दैनिक १५२ मेगावाट विद्युत् उत्पादन !

२ बर्ष अगाडि

काठमाडौं - माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको दोस्रो युनिटबाट विद्युत् उत्पादान सुरु भएको छ । दोलखाको विगू गाउँपालिका–१ लामाबगरमा निर्माण भएको ४५६ मेगावाट क्षमताको आयोजनाको दोस्रो युनिटको ७६ मेगावाट विद्युत् मंगलबार दिउँसोबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

दोस्रो युनिट प्रणालीमा जोडिएपछि आयोजनाबाट १५२ मेगावाट विद्युत् उत्पादन भइरहेको प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अब हरेक १५ दिनमा अर्को युनिटबाट बाँकी ४ वटा युनिट क्रमशः उत्पादन गर्दै जाने योजना छ ।

आयोजनाको विद्युत्गृहमा रहेका ६ वटा युनिटको प्रतिगोटा क्षमता ७६ मेगावाट छ । गत साता (असार २१ गते, सोमबार) तामाकोसीको पहिलो युनिटबाट उत्पादन सुरु गरिएको थियो । पहिलो सञ्चालनका लागि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै उद्घाटन गरेका थिए ।

आयोजनाले उत्पादन गरेको विद्युत् गोंगरस्थित विद्युत्गृहदेखि ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसन पु९याइएको छ । त्यहाँबाट खिम्ती–ढल्केबर प्रसारण लाइनबाट ढल्केबरस्थित ४००-२२० केभी सवस्टेसनमा पु९याइएको छ । 

न्यू खिम्ती सवस्टेशनमा माथिल्लो तामाकोसीसँगै ५४ मेगावाटको लिखु खोलाको विद्युत्समेत जोडिएको छ । न्यू खिम्ती सवस्टेशन समेत माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले नै निर्माण गरेको हो ।

आयोजनाले सबैभन्दा सुख्खा समयमा दैनिक कम्तीमा ४ घन्टा पूर्ण क्षमता (४५६ मेगावाट) उत्पादन गर्नेछ । रोल्वालिङ खोलाको पानी मिसाएर उत्पादन बढाउने योजना पनि कार्यान्वयन भइरहेको छ । 

रोल्वालिङको पानी मिसाउँदा थप २२ करोड युनिट र थप २० मेगावाटबाट १० करोड युनिट विद्युत् थप हुने छ । रोल्वालिङ आयोजनाको पनि डीपीआर गरेर बोलपत्र आह्वानको प्रक्रियामा गएको छ । यो आयोजनाबाट वार्षिक औसत २ अर्ब २८ करोड १० लाख युनिट विद्युत् उत्पादन हुनेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया