३ करोडको लागतमा बिरिङ खोलामा  तटबन्ध, बाह्रदशीवासी सुरक्षित

२ बर्ष अगाडि

हरेक वर्ष बिरिङ खोलामा आएको बाढीले डुबान र कटानको समस्या झेल्दै आएका बाह्रदशी गाउँपालिकावासीले यो वर्ष भने राहतको महसुस गरेका छन् । बाह्रदशी–५  भएर बग्ने बिरिङ खोलाको पूर्वी क्षेत्रमा पक्की बाँध बाँधिएपछि गाउँपालिकावासीले राहतको महसुस गरेका हुन् ।

सङ्घीय सरकारअन्तर्गत जनताको तटबन्ध फिल्ड कार्यालय गैँडेको रु तीन करोडको लागतमा बिरिङ खोलाको पूर्वी भू–भागमा तटबन्ध गरिएसँगै बाह्रदशीवासी डुबान र कटानको समस्याबाट मुक्त भएको बाह्रदशी–५ का वडाध्यक्ष भूपेन्द्र कटुवालले जानकारी दिए । उनका अनुसार हरेक वर्ष वर्षायाममा वडा नम्बर ५ को पश्चिमी क्षेत्रबाट बिरिङ खोलाको पानी बस्तीमा पसेर डुबान हुने गरेको थियो तर यो वर्ष झण्डै एक किलोमिटर खोलाको तटीय क्षेत्रमा बाँध बाँधेपछि डुबान र कटानको समस्या हल भएको हो ।

“सो वडास्थित बिरिङ खोलाको तटीय भू–भागमा तटबन्ध गरिएसँगै वडा नम्बर ५ सहित १, २, ३ र ४ नम्बर क्षेत्रका बासिन्दा लाभान्वित भएका छन्”,– वडाध्यक्ष कटुवालले भने । यसअघि वडा नम्बर ७ को डाँगीबारी पश्चिम पनि बिरिङ खोलामा पक्की बाँध बाँधेका कारण सिङ्गो डाँगीबारी बजार सुरक्षित भएको छ । अघिल्लो आर्थिक वर्ष यो क्षेत्रमा दुई चरण गर्दै झण्डै रु पाँच करोडको लागतमा बिरिङ खोलामा बाँध बाँधिएको बाह्रदशी–७ का वडाध्यक्ष मित्रराज भट्टराईले जानकारी दिए । हरेक वर्ष बिरिङ खोलामा आउने बाढीले यो क्षेत्रको सयौँ बिघा खेती योग्य जमीन डुबानमा पर्ने गरेको थियो भने नदी कटानको समस्याले बस्ती नै सार्नुपर्ने अवस्था थियो । वडाध्यक्ष भट्टराईले भने, “बिरिङ खोलामा बाँध बाँधेपछि सिङ्गो बाह्रदशीवासी सुरक्षित छौँ ।”

तटबन्ध गरिएको क्षेत्रमा राजमार्ग जोड्ने कृषि सडक निर्माण गर्ने र सडक किनारमा रुद्राक्षका बिरुवा लगाउने योजना रहेको बताइएको छ । खोला किनारमा तटबन्धसँगै कृषि सडक निर्माण गरेको खण्डमा कृषकलाई समेत आफूले उत्पादन गरेको अनाज घर र बजार लान सहज हुने बताइएको छ । खोला किनारमा वृक्षरोपणका लागि डिभिजनल वन कार्यालय झापालाई रुद्राक्षको बिरुवा उत्पादन गर्न सहयोग पु¥याइदिन आग्रहसमेत गरिएको वडाध्यक्ष कटुवालले बताए ।

२ बर्ष अगाडि

प्रतिक्रिया